• १९ जेठ २०८१, शनिबार

‘मृत्युभोजका लागि दबाब छैन’

blog

जीवछ यादव

लहान, जेठ ३ गते  । तराई मधेशमा परापूर्वकालदेखि चल्दै आइरहेको मृत्युभोज नियन्त्रण हुन लागेको यादव जातिका सभापति माइनजनहरूले बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले आफ्नो पिताको तेह्राँै दिनको पुण्यतिथिमा आयोजना गरेको सभास्तरीय भोजमा सम्मान ग्रहण गर्दै यादव जातिका सभापति राम विहारी यादवले यस्तो बताउनुभयो । 

यादव जातिका सभापति पटिकटिका मानजन देवानसहित ३५ जनाभन्दा बढीलाई धोती र गम्छासहित सङ्घीय सांसद यादवले सम्मान गर्नुभएको थियो । सम्मान गर्दै सांसद यादवले भन्नुभयो, “मृत्युभोज न्यूनीकरण हुनु पर्छ भने पक्षमा म आफैँ भए पनि पिता हनुमानी यादवले मेरो मृत्युभोज सभास्तरीय गर्न भनेकाले उहाँको वचन पूरा गर्न सभास्तरीय भोजको आयोजना गरेँ । 

सभास्तरको एउटा भोजमा दस क्विन्टल चामल खर्च भएको छ । यादव जातिका अगुवाहरूलाई सम्मान गर्दा गौरव महसुस गरेको छु । मृत्युभोज आफैँ नियणन्त्रणतर्फ गइरहेको छ । यस भोजको अन्त्य गर्नु भनेको संस्कृति र संस्कार हराउनु हो । अन्त्य होइन, न्यूनीकरण हुन आवश्यक छ ।” जहदी सभाका सभापति राम विहारी यादवले अब मृत्युभोज गर्नैपर्ने दबाब दिइने काम पूरा बन्द भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई इच्छा भयो भने गर्न सक्छ तर अब पहिलेको जस्तो मृत्युभोज गराउन कुनै किसिमको बाध्यता जातीय सभापति माइनजनहरूले दिने छैनन् ।” नयाँ पुस्तामा यसरी मृत्युभोज खाने र भोज गर्ने उत्सुकता नदेखिएकाले जातीय माइनजनहरूले चाहेर पनि मृत्यु भोजको आयोजना गर्न छोड्दै गएका छन् ।

सभापति यादवले भन्नुभयो, “सङ्घीय सांसद यादवका पिता हनुमानी यादव स्वयं यादव जातिको अगुवा भएकाले उहाँको तिथिमा सभास्तरीय भोज आयोजना गर्नुभएको हो । यसमा हाम्रो कुनै दबाब थिएन ।” सिरहामा यादव, महतो, कलबार, तेली, सुँडी जातिमा हुने मृत्यु भोजमा लाखाँै रकम खर्च भइरहेको छ । एउटा सभा भोजमा दस लाख रुपियाँभन्दा बढी खर्च हुने नागरिक अगुवा रामविहारी साहले बताउनुभयो । उहाँले भोजलाई न्यूनीकरण गरेर त्यो खर्चलाई सामाजिक कार्यमा लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोजका लागि आवश्यक सबै सामग्री भारतीय बजारबाट आउने गरेकाले ठुलो रकम बाहिरिने गरेको छ ।”

मानव अधिकारवादी राजकुमार राउतले जातीय सङ्घ सङ्गठनहरू बसेर मृत्युभोज न्यूनीकरण, दाइजो प्रथाको अन्त्य, नारी शिक्षामा जोड दिन सबै जातिका अगुवाले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले तराई मधेशमा कतिपय मृत्युभोज र दाइजोको खर्च जुटाउँदा जायजेथा बेचेर सुकुमवासी भइसकेका बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो प्रथा र परम्पराले मानिसलाई विपन्नतातर्फ धकेलिरहेको छ भने त्यसको बढावा होइन, अन्त्य नै गर्न आवश्यक छ ।”