• १३ साउन २०८१, आइतबार

बढ्दै गएको केकको व्यापार

blog

वसन्त पराजुली

भरतपुर, जेठ ३ गते । नेपालमा पछिल्लो समय हरेक केकको प्रयोग बढेको छ । युवा पुस्ता मात्रै हैन वृद्धले समेत आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका पर्वमा केक काट्ने प्रचलन अनिवार्य जस्तै भएको छ । विशेषतः विवाहोत्सव वा विभिन्न सङ्घ संस्थाको वार्षिकोत्सव, आफन्तको विदेश यात्रा होस् वा विदेशबाट फर्केको दिन केही रमाइलो गर्न पर्‍यो भने केक काटेर रमाइलो गर्ने कार्य अनिवार्य जस्तै भएको छ ।

भैरहवा, वुटवल र नारायणगढमा केकको मुख्य व्यापार गर्दै आइरहेको ब्ल्याक फरेस्टका अपरेसन म्यानेजर नवलसिंह थापा नेपालीमा अहिले बढ्दै गएको केक प्रयोगले लाइफस्टाइल नै परिवर्तन भएको देखाउने धारणा राख्नुहुन्छ । “हेर्नूस् न अहिलेको पुस्ता हरेक पर्वमा केक काट्न रुचाउँछन् । केक त हरेक पर्वमा अपरिहार्य बनिसक्यो,” उहाँले भन्नुभयो । कपुरबोट डटकमका पत्रकार सन्तोष देउजाले केही समयअघि १७ वटा केक काटेर आफ्नो जन्मोत्सव मनाउनुभयो । साथीभाई इष्टमित्रहरूले आफ्नो नाममा केक ल्याएपछि रमाइलोकै लागि पनि केक काट्नु परेको देउजाले बताउनुभयो । 

“त्यै त हो साथीभाइले ल्याए । अनि रमाइलोका लागि पनि काट्नु पर्‍यो,” उहाँले भन्नुभयो, “जन्मोत्सव त पहिला पहिला पनि मनाइन्थ्यो । केक नहुँदा पनि त मनाइन्थ्यो तर अहिले केक काट्ने कुरा प्रचलन नै भयो ।” पश्चिमा  देशबाट भित्रिएको केक काट्ने प्रचलन नेपालमा पनि बिस्तारै ‘कल्चर’ (संस्कृति) कै रूपमा देखिन थालेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि केक प्रयोगमा बढावा आएको हो । “बाहिरी कल्चर आयात भएसँगै केकको प्रयोग गर्ने प्रचलन बढेको हो,” पत्रकार देउजाले भन्नुभयो । 

लभर्डस पोइन्ट केक एन्ड क्याफेका सञ्चालक सुजन सुवेदी विशेष उत्सवसँगै पछिल्ला वर्षहरूमा आमाको मुख हेर्ने मातातीर्थ औँसी, बुबाको मुख हेर्ने कुशेऔँसीलगायतका पर्वमा बढी केक बिक्री हुने गरेको अनुभव सुनाउनुहुन्छ । केही दिनअघि सकिएको मातातीर्थ औँसीका दिन एकै दिन तीन सयभन्दा बढी केक बिक्री भएको उहाँले सुनाउनुभयो, चितवनमा यस्ता केक पसल सयभन्दा बढी छन् । 

“आमाको मुख हेर्ने औँसी (मातातीर्थ औँसी) को दिन त दिनभरि नै केक दिन भ्याइनभ्याइ नै भयो,” उहाँले थप्नुभयो, “यो बुवाको मुख हेर्ने औँसी (कुशेऔँसी) का दिन पनि यस्तै हुन्छ ।” जन्मदिनमा मात्रै नभई विभिन्न कार्यक्रममा समेत केकको प्रयोग बढेको उहाँले बतााउनुभयो । 

नेपालमा कति केकको कारोबार हुन्छ भन्ने यकिन तथ्याङ्क भेटिँदैन । व्यवसायी नेपालमा पाँच सय देखि ५० हजार रुपियाँसम्मका केक कारोबार हुने बताउँछन् ।