• १२ साउन २०८१, शनिबार

आले मगरलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी

blog

बुधबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय बारेमा जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, जेठ २ गते । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बुधबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो । 

यसअघि यस प्रदेशमा १४ वटा मन्त्रालय रहेकोमा शालिकराम जम्कट्टेल बनेपछि ११ वटामा झारिएकोमा पुनः मन्त्रालय फुटाएर १३ वटा बनाइएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णयसँगै सो मन्त्रालयको जिम्मेवारी बिनाविभागीय मन्त्री रमा आले मगरलाई दिइएको जानकारी दिनुभयो । 

आले मगरलाई गत चैत २० गते एक साताभित्रमा मन्त्रालय तोक्नेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिनाविभागीय मन्त्रीमा नियुक्ति गर्नुभएको थियो । बागमती प्रदेश सरकारको कार्यविभाजन नियमावली २०८० अनुसूची हेरफेर गरी स्वीकृत गर्ने निर्णयसँगै बिनाविभागीय मन्त्री आलेमगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको बताउनुभयो । 

मन्त्री परिषद् बैठकले प्रदेश विकास परिषद्मा सदस्य मनोनयन गर्ने, प्रदेश खेलकुद विकास परिषद् नियमावली दोस्रो संशोधन स्वीकृतलगायतका सातवटा निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसैगरी बागमती प्रदेश विश्वविद्यालय संरक्षण समितिको सदस्यमा प्राडा. चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई मनोनयन गर्ने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।