• १२ साउन २०८१, शनिबार

जेठ ४ देखि लाङटाङ हिमाल क्षेत्रका पदमार्ग अभियान सञ्चालन हुने

blog

काठमाडौँ, जेठ २ गते । नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाइ गर्ने भएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै युनियनले यसबारेमा जानकारी गराएको हो । यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमिकहरुको प्रत्यक्ष सहभागिता सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियनका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो ।

उहाँले २०५२ देखि निरन्तर हिमाल बचाउ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको बताउनुभयो । उहाँले पदमार्ग सरसफाइ कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

अध्यक्ष पराजुलीले नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) तथा नेदरल्याण्डको ट्रेड युनियन एफ.एन.भी सँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मान्व जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित सरसफाई कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष पराजुलीले श्रमिकहरु सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिइएको बताउनुभयो । उहाँले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।