• ९ जेठ २०८१, बुधबार

मौरीपालनबाट ९० किसान परिवार स्वरोजगार

blog

मोरङको उर्लाबारी-१ कान्छी चौकमा मह काढ्दै किसान परिवार । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, जेठ २ गते । थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि पूर्वी मोरङका किसानहरू व्यावसायिक मौरीपालनबाट स्वरोजगार बनेका छन् । १५ वर्षअघि ३५ जनाको समूह बनाएर मेलीफेरा मौरीपालन सहकारी संस्था गठन गरी त्यही संस्थामार्फत व्यवसाय सुरु गरेका किसान अहिले स्वरोजगार बनेका छन् । 

हाल ९० जना किसान व्यवसायिक रुपमा मौरीपालनमा संलग्न रहेको संस्थाका अध्यक्ष बोधराज खतिवडाले बताउनुभयो । उहाँका अनुसार संस्थामा आबद्ध नभएका किसानको सङ्ख्या पनि लगभग २५ छ । खतिवडा आफैंले १५ वर्ष अगाडि एक घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको हो । सातदिने तालिम लिएपछि व्यवसाय सुरु गरेका खतिवडासँग अहिले १०० घार मौरी छन् । 

मङ्सिरदेखि जेठसम्म मौरीले मह उत्पादन गर्नेगर्छ । एउटा घारबाट एक पटकमा १० किलोसम्म मह उत्पादन हुन्छ । खतिवडाका अनुसार मौरीको प्रति घार १० हजार रुपियाँ पर्छ। खतिवडाले सुरुमा चार हजार रुपियाँ लगानी गर्नुभएको थियो । त्यही चार हजार पुँजीको मूल्य अहिले १० रुपियाँ पुगेको खतिवडाको भनाइ छ । १५ वर्षयता निरन्तर मह उत्पादनमा लाग्नुभएका खतिवडाले १ करोडभन्दा बढीको मह स्थानीय बजारमा विक्री गरिसक्नुभएको छ । आफ्नो खेतबारी नभएका तर इच्छाशक्ति भएका जोसुकैले मौरीपालन गर्न सक्ने खतिवडाको भनाइ छ । 

खतिवडा मात्र होइन, उर्लाबारी-४ का भोलाराज पोख्रेलको मुख्य पेशा नै मौरीपालन व्यवसाय हो । उहाँले लेकाली मौरीपालन उद्योग खोलेर व्यवसायिक उत्पादन गरिरहनुभएको छ । उहाँले भन्नुभयो, "गाईबस्तुलाई जस्तो मिहिनेत गर्नु नपर्ने । घरमा बसिबसी व्यवसाय गर्न सकिने भएकोले यो व्यवसाय सजिलो लाग्यो ।" 

जति उत्पादन भए पनि बजारको अभाव नभएकोले पोख्रेलले हरेक वर्ष मौरीको घार पनि बढाउँदै जानुभएको छ । १० वर्षअघि उहाँले पाँच घार मौरीबाट व्यवसाय सुरु गर्नुभएको हो। उहाँसँग अहिले ४० घार मौरी छन् । वार्षिक ८-१० लाख रुपियाँ आम्दानी गर्न कुनै समस्या छैन । वर्षातको समयमा मौरी बचाउन समस्या छ । पानी पर्ने मौसममा उनीहरू आफै खानेकुरा खोज्न जान सक्दैनन् । त्यसबेला चिनीको चास्नी दिएर मौरी बचाउनुपर्छ । मुख्य खर्च भनेको जेठदेखि असोजसम्म मौरीको आहार व्यवस्थापन हो, पोख्रेलले भन्नुभयो । 

खतिवडा र पोख्रेल जस्तै उर्लाबारी-४ का सबिन खड्का मौरी उत्पादन व्यवसायमा लाग्नुभएको ११ वर्ष भयो । अरु साथीहरूले व्यवसाय फेरे, कोही विदेश गए । तर, खड्का निरन्तर मौरीपालन व्यवसायमा हुनुहुन्छ । उहाँले भन्नुभयो, "सरकारी निकायले निर्यात जन्य उत्पादनलाई प्राथमिकतामा राखेर अझ बढी प्रचारप्रसार गरे किसानहरूमा व्यवसायप्रति आकर्षण बढ्ने थियो । पहिले–पहिले पूजाआजामा भगवानलाई चढाउन मात्र प्रयोग गरिने मह हाल आएर औषधी र भिटामिन प्राप्त गर्न जो कोहीले खान थालेकाले बजारको अभाव नरहेको खड्काको अनुभव छ । 

उहाँले भन्नुभयो, "पछिल्लो समय महको उत्पादन बढेको छ । धेरै किसानले एकै पटक धेरै उत्पादन गर्दा बजारको अभाव हुन थालेको छ । देशमा प्रशस्त उत्पादन भएपछि विदेशबाट ब्राण्ड लागेर आउने महको आयात बन्द गर्नु पर्ने खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, "सरकारले मौरीलाई चरण क्षेत्रको व्यवस्थापन गर्नसके मोरङका किसानले हरेक वर्ष १२-१३ करोड रुपियाँको मह निर्यात गर्न सक्ने थिए । गाउँघरमा छिमेकीहरूले मौरी पालेको देखेपछि अचेल मौरीपालनमा आकर्षण बढेको छ । उर्लाबारी–१ कि विन्दिया दनुवारले भन्नुभयो, "दुई घारबाट मौरीपालन सुरु गरेको छु । अहिले गाउँमा एक-दुई घार मौरी नपाल्ने कोही छैनन् ।"