• १२ साउन २०८१, शनिबार

सेयर रकम हिनामिना : प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १ गते । 
सर्वसाधारणको बचत र सेयरधनीको सेयर रकमसमेत हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले मङ्गलबार प्राइम बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४, गैह्रापाटनमा मुख्य कार्यालय रहेको प्राइमको कार्य क्षेत्र कास्की जिल्लाभर छ । प्रहरीले अध्यक्ष शङ्कर कार्की, प्रमुख कार्यकारी अधिकृत, सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनिल थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराललगायतलाई पक्राउ गरेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका सहकारी रजिष्ट्रार भेषराज रिजालले प्राइममा एक अर्ब ५४ करोड हिनामिना भएको देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कैफियत देखियो । चैतदेखि नै छानबिन थालेका हौँ । प्रतिवेदन प्रहरीलाई बुझाइसकेका छौँ ।”

यसैबिच जिल्ला प्रहरी कार्यालय, कास्कीले प्राइमका बचतकर्तालाई सहकारीविरुद्ध प्रमाणसहित उजुरी दिन सूचना जारी गरेको छ । जेठ २० गतेभित्र सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्र लगायतका प्रमाणसहित उजुरी दिन भनिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

सहकारी रजिष्ट्रारको कार्यालयको पत्र आउनेबित्तिकै कारबाही सुरु गरिएको शर्माले बताउनुभयो । यसअघि नै कास्कीका मित्रमिलन सहकारी, सूर्य दर्शन बचत तथा सहकारी, बलिदानी बहुउद्देश्यीय सहकारी, विन्दवासिनी सहकारी, शिवशिखर सहकारी र इमेज सहकारीले बचतकर्ताको रकम अपचलन गरी अनियमितता गरेपछि केहीको मुद्दा कास्की जिल्ला अदालतमा छ भने केही सहकारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।