• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको सवारी सामान्य

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, जेठ १ गते । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा सङ्घीय संसद् भवन जानुहुने भएको छ । उहाँको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ ।

राष्ट्रपति पौडेलको सवारी आज नयाँ बानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ । उहाँलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नुहुनेछ भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्नेछ । राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ बानेश्वर जानुभएको थियो । 

विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो । राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रम सङ्घीय संसदको संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत गर्नुहुने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान राष्ट्रपतिको संसद् प्रवेशको ‘रिहर्सल’ गरिएको थियो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद्र भवन सिँगारिएको छ । संसद् भवन परिसरमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । रासस