• १५ असार २०८१, शनिबार

हिमाल सफाइ अभियानमा नेपाली सेना

blog

मित्र भण्डारी 

नेपालमा मात्र आठ हजारभन्दा अग्ला आठ र छ हजारमाथिका एक हजार ३१० हिमाल छन् । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथादेखि धेरै हिमाल भएका कारण नेपाल सगरमाथा र हिमालयको देश भनेर विश्वमा बढी परिचित छ । प्राकृतिक अनुपम यिनै हिमालको सौन्दर्य अवलोकन गर्न तथा ती हिमालका चुचुरो चुम्ने अभिलासासहित बर्सेनि ५० हजार विदेशी पर्यटक तथा ८० हजार सहयोगी विभिन्न हिमालमा ओहोर–दोहोर गरिरहेका हुन्छन् । 

हिमाल चढ्दा जोस र उत्साहका साथ गन्तव्यतर्फ लागेका आरोही फर्किने क्रममा भने थकित बनेका हुन्छन् । कैयौँ दिनको हिँडाइ, कठिन तथा जोखिमपूर्ण यात्रा, अपर्याप्त अक्सिजनका कारण शरीर थकित बनेका आरोही तथा उनीहरूका सहयोगीले फर्किंदा खपत भएका खाद्यवस्तुका डिब्बा प्लास्टिकका पोका, आरोहणका क्रममा प्रयोग गरेका उपकरण यत्तिकै छाडेर हिँड्ने गरेका कारण हिमाल फोहोर बन्दै गइरहेका छन् ।

भौगोलिक तथा पर्यावरणको दृष्टिले अति संवेदनशील हिमालमा थुप्रिएको फोहोरका कारण पर्यावरण असन्तुलित हुने पानीको स्रोत फोहोर हुने तथा पर्यटनमा समेत असर पुग्ने भएपछि नेपाल सरकारले हिमाल सफाइ अभियान सुरु ग¥यो । जसको नेतृत्व नेपाली सेनाले गरिरहेको छ ।  

सन् १९५० देखि नेपालमा हिमाल आरोहण गर्ने क्रम चल्यो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका हिमाल विदेशी तथा स्वदेशी पर्यटनको आकर्षणको केन्द्र बनेका छन् । आरोहीको वृद्धिसँगै हिमाली क्षेत्रमा फोहोर थुप्रिँदै जाँदा प्राकृतिक सौन्दर्य र पर्यावरणमा समेत असर पर्न थालेको छ । भौगोलिक रूपमा अति संवेदनशील मानिने हिमालमा थुप्रिएको फोहोरका कारण पानीको स्रोत र पर्यावरणमा गम्भीर असर परेपछि त्यसले आरोहीलाई पनि समस्या पार्न सक्छ । लामो समयदेखि हिमालमा थुप्रिएको फोहोरका कारण हिमालको पर्यावरण असन्तुलन भई हिँउ पग्लिने हिमतालको सतह बढ्दै जानेछ । त्यसकै कारण कुनै बेला ठूलो विपत्ति आउन सक्ने चिन्ता पनि उत्तिकै छ । यही जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सफा हिमाल अभियान सुरु भएको हो । 

हिमालको सफाइमा सेना 

हिमाल सफाइ गरी पर्यटन तथा वातावरण प्रवद्र्धनमार्फत स्थानीय बासिन्दाको दिगो विकास तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित सफाइ अभियान सुरु भएको हो । अर्थतन्त्रको प्रमुख स्रोत पर्यटन र त्यसका प्रमुख गन्तव्य हिमालको सफाइ तथा भावी पुस्ताका लागि हिमाल संरक्षण अभियान नेपाल सरकारबाट सञ्चालन भइरहेको छ । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । मुुलुकमा हुने हरेक अप्ठ्यारो काममा सेनाको साथ र सहयोग रहँदै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झन्डै ११ टन फोहोर सङ्कलन गरिसकेको छ । कोरोना सङ्क्रमणका कारण सन् २०२० को सफाइ अभियान रोकियो । 

सन् २०२१ अर्थात् अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम गरी पाँच हिमालबाट २७.६ टन फोहोर सङ्कलन गरिएको थियो । यस पटकको अभियानमा सेनाले सगरमाथा, ल्होत्से कञ्चनजङ्घा र मनास्लु गरी चार हिमालबाट ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य राखेको छ । सेनाले ‘सफा हिमाल अभियान २०२२’ विश्व वातावरण दिवस ५ जुन २०२२ अर्थात् आगामी जेठ २२ गते सम्पन्न गर्ने गरी अभियान सुरु गरिसकेको छ । 

सगरमाथा र ल्होत्से हिमालमा १२ जना तथा कञ्चनजङ्घा र मनस्लु हिमालमा नौ–नौ जना गरी ३० जना नेपाली सेना सफाइ अभियानमा खटिएका छन् । सफा हिमाल अभियानमा नौ जना हिमाल आरोही शेर्पा, नेपाली सेनाका चिकित्सक, अनुसन्धानकर्तासहित ९२ जनाको सहभागिता रहेको छ । हिमालमा बढ्दै गएको प्रदूषण नियन्त्रण, वातावरणको स्वच्छता कायम राख्दै जलवायु परिवर्तनको असर कम गर्ने र पर्यटन अभिवृद्धि गर्ने उद्देश्यका साथ यो अभियान सुरु भएको हो । 

सेनाले अभियानको पूर्वतयारी तीन चरणमा सम्पन्न गरेको छ । जसअन्तर्गत पहिलो चरण गत कात्तिक २० गतेदेखि फागुन १५ सम्म भौगोलिक अवस्थाबारे अध्ययन तथा पूर्वतयारी योजना तथा प्रशिक्षण, दोस्रो चरणअन्तर्गत फागुन १५ देखि चैत ९ गतेसम्म सरोकारवाला निकायसँगको समन्वय पूर्वतयारी योजना सम्पन्न भइसकेको छ । तेस्रो चरणअन्तर्गत चैत २२ गतेदेखि जेठ २२ गतेसम्म हिमाल सफाइ अभियान सञ्चालन हुनेछ । अभियानका क्रममा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानबाट हिमाली क्षेत्रको उच्च वायुको अवस्थाबारे विशेष अनुसन्धान गर्नेछ । 

फोहोरलाई मोहोर बनाउने अभियान 

नेपाली सेनाले हिमालमा थुप्रिएको फोहोर सङ्कलन गरी पुनः प्रयोग अर्थात् मोहोरका रूपमा परिणत गर्ने लक्ष्यसहित अभियान सुरु गरेको छ । ‘माउन्टेनरिङ एक्पिडिसन’ अवधारणाअनुरूप एकीकृत योजनाअन्तर्गत कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरिनेछ । अभियानमा सहभागी आरोहण दलका सदस्यलाई बेसक्याम्पभन्दा माथिको फोहोर सङ्कलन गरी रोजगारी सिर्जना गरिनेछ । सङ्कलित फोहोर पहिलो चरणमा सड्ने र नसड्ने 

गरी छुट्याइनेछ । कुहिने फोहोर स्थानीय निकायसँगको समन्वयमा व्यवस्थापन गरिनेछ भने नकुहिने फोहोर जम्मा गरी विभिन्न प्रकारका सजावटका सामग्री तयार गरिनेछ । यसबाट फोहोर व्यवस्थापनसँगै नयाँ 

रोजगारीसमेत सिर्जना हुने अपेक्षा गरिएको छ । सफा हिमाल अभियानमार्फत वातावरणीय प्रदूषण कम गरी हिमालमा फोहोरको अवस्था शून्य बनाउन विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ । 

हिमालको प्राकृतिक अवस्थाबारे विभिन्न अध्ययन भइरहे पनि यसको अवस्था गर्भकै विषय बनेको छ । भारतीय उपमहाद्वीपको एक अर्ब ३० करोड (१.३ बिलियन) जनसङ्ख्याको पानीको स्रोत रहेका हिमालयको वातावरण संरक्षण सफाइ अभियानले सहयोग गर्ने विश्वास गरिएको छ । सगरमाथामा मात्र करिब डेढ लाख टन फोहोर र ३०० भन्दा बढी आरोहीका मृत शरीर रहेको अनुमान गरिएको छ ।

“हिमाल सफाइको काम जोखिमपूर्ण तथा साहसिक मानिन्छ । नेपाली सेनाले अभियानमा सहभागी हुने सेनालाई विशेष तालिमअन्तर्गत चट्टान कला, हिमकला, आरोहण व्यवस्थापनको प्रशिक्षण दिइसकेको छ । तालिममा सहभागी भई उत्कृष्ट हुनेलाई मात्र सफाइ अभियानमा सहभागी गराइएको छ ।”




Author

मित्र भण्डारी