लिलाधर वली
घोराही, वैशाख ३१ गते । दाङको राप्ती गाउँपालिका वडा नं.४ मा पुराना कुवा तथा इनारहरू संरक्षण गर्न थालिएको छ । स्थानीय सरकारको पहलमा पुराना कुवा तथा इनारको संरक्षणको काम थालिएको हो ।
वर्षौँअघि निर्माण भएर नागरिक खानेपानीसँगै घरायसी कामका लागि प्रयोग गरेका इनार तथा कुवाहरू बिस्तारै जीर्ण हुँदै गएपछि स्थानीय सरकार संरक्षणमा जुटेको राप्ती गाउँपालिका वडा नं.४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभएको छ । पुराना तथा जीर्ण अवस्थामा पुगेका कुवा तथा इनारहरूको मर्मतसँगै ट्रष्ट निर्माण गरी टिन तथा तार जाली लगाई संरक्षण गर्ने काम गरिएको बताउनुभएको छ ।
आर्थिक वर्ष २०८०-८१ म वडा कार्यालयले विनियोजन गरेको करिब २ लाख रुपैयाँबाट वडा नं. ४ का खिनैटा र जनकपुर गाउँमा रहेका २ वटा पुराना इनार तथा कुवा मर्मत तथा संरक्षण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष चौधरीले भन्नुभयो, "अहिलेपनि कतिपय स्थानमा वर्षौँ पुराना कुवा र इनार रहेका छन् । त्यी कुवा र इनारलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने उद्देश्यले तारजालीसँगै जस्ताको पाताको छाना हाल्ने काम गरिएको छ ।" पछिल्लो समय धाराको पानी खाने क्रम बढेसँगै वडाका विभिन्न बस्तीमा रहेको सार्वजनिक कुवा तथा इनारहरूको संरक्षण नहुँदा वडा कार्यालयले बजेट विनियोजन गरेर संरक्षणमा जुटेको हो ।
वडा अध्यक्ष चौधरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ४ का विभिन्न १३ वटाबस्तीमा दुई दर्जन बढी कुवा तथा इनारहरू रहेको तिनको पनि संरक्षण गरिने बताउनुभएको छ । इनार तथा कुवाको मर्मत सम्भार गर्दा पुरानो परम्परागत संस्कृतिका रूपमा रहेका कुवा तथा इनारहरूको संरक्षण हुने र गर्मी दिनमा चिसो पानी खान पाइने विश्वास रहेको स्थानीय शालिकराम चौधरी बताउनुहुन्छ ।