• १२ मंसिर २०८१, बुधबार

नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि गुल्मीका तीन स्थानीय तह छनोट

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ३१ गते । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि गुल्मीका तीन स्थानीय तह छनोट भएका छन् । प्रदेश सरकारले नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न ल्याएको नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये गुल्मीका तीन स्थानीय तह हुन् ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा लागि यस जिल्लाको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिका छनोट भएका छन् । रेसुुङ्गा नगरपालिका रेसुङ्गा क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि साहसिक खेल जिपलाइन तथा स्काई साइक्लिङ निर्माण योजनासम्बन्धी परियोजना सञ्चालन गर्नका लागि छनोट भएको हो।

गुल्मीदरबार गाउँपालिका फलफूल तथा तरकारी खेती प्रवर्द्धन  कार्यक्रम र कालीगण्डकी गाउँपालिका सुन्तलाजात फलफूल तथा तरकारी खेतीमा कृषि प्रविधि, प्रशोधन र दिगो कृषि विकास परियोजना सञ्चालन गर्नका लागि छनोट भएको बताइएको छ । चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न स्थानीय तहसँग प्रदेश सरकारले प्रस्ताव आह्वानका लागि गत माघ १५ गते सूचना प्रकाशित गरेको थियो । 

जसका लागि प्रदेशका १०९ स्थानीय तहमध्ये ६० स्थानीय तहले आफ्नो योजनासहित प्रस्ताव पेश गरेका थिए । छनोट भएका ११ स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्नेछ ।

लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । छनोट भएका स्थानीय तहमा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँच, उत्पादन रोजगारसम्बन्धी तीन, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र छन् । अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।