• १३ साउन २०८१, आइतबार

नौ महिनामा साढे छ अर्ब भित्रियो विदेशी लगानी

blog

काठमाडौँ, वैशाख ३१ गते । मुलुकमा नौ महिना साढे छ अर्ब प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड रुपियाँ भित्रिएको हो । गत वर्षको तुलनामा चार अर्ब १४ करोड रुपियाँले बढी भत्रिएको हो । सो अवधिमा मुलुकबाट पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आएर चार अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो । नीतिगत सुधारसँग मुलकमा भित्रिने विदेशी लगानीमा सुधार आएको हो । 

नेपालमा विभिन्न मुलुकबाट वैदेशिक लगानी भित्रिने गरेको छ । मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाइएको छ । उद्योग विभागका सूचना अधिकारी अर्जुनसेन ओलीले नीतिगत सुधारले मुलुकमा वैदेशिक लगानी बढ्दै गएको जानकारी दिनुभयो । 

चालु आवको नौ महिनामा विभिन्न २६९ परियोजनामार्फत ३० अर्ब १० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार आठ महिनामा साना उद्योगमा २१ अर्ब ८५ करोड रुपियाँ भित्रिएको छ । सो अवधिमा मझौला उद्योगमा तीन अर्ब ६३ करोड र ठुलो उद्योगमा तीन अर्ब ६६ करोड रुपियाँ भित्रिएको छ । पर्यटन, जलविद्युत् र सेवामूलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । छिमेकी मुलुक भारत, चीन, कोरिया, अमेरिका, सिङ्गापुरलगायतका मुलुकबाट विदेशी लगानी भित्रिने गरेको छ । 

गत आव ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो तर सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रुपियाँ रहेको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।