• १२ साउन २०८१, शनिबार

‘क्यानभास’ मा बुद्ध र बुद्धको जीवनचित्र

blog

क्यानभासमा ऐतिहासिक देवदह कार्यशालामा सहभागीहरू । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख ३० गते । रुपन्देहीको देवदहमा दुई दिन लगाएर ‘क्यानभास’ मा बुद्ध र बुद्धको जीवनचित्र कोरिएको छ । बुद्ध मावलीमा जम्मा भएका २४ कलाकारहरूले बुद्धको जीवनी चित्रमा उतार्नुभएको हो ।  

क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार सकिएको हो । कार्यशालाको एक समारोहबिच उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गर्नुभयो  । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा दिने बताउनुभयो । उहाँले कलाकारहरूले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । 

२५६८ औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा ड्रिम देवदह युनिटी फर चेन्जको आयोजनामा दुई दिने कार्यशाला गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठुलो सहयोग गर्ने बताउनुभयो । 

यस्तै, कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्त्विक स्थलमा गरिएको कार्यशालाले देवदहको प्रवर्द्धनमा ठुलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताउनुभयो । लुम्बिनी विकास कोष कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो । आयोजक ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष समेत रहेका भट्टराईले कलाकारहरूले उतारेका ऐतिहासिक चित्रहरूले देवदह र बुद्धको जीवनलाई उतारेको जानकारी दिनुभयो ।

देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाध्यक्ष मोहन बहादुर जिसि, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्द चौधरी, खयरडाँडा संरक्षण समिति देवदह-९ का सल्लाहकार पीताम्बर खराल, सचिव दीपेश बस्याल, पवन पौडेल लगायतले बोल्नुभएको थियो ।

चित्रहरूमा देवदहको इतिहास कोरिएको छ । दुई दिने कार्यशालाबाट बनेका २४ वटा चित्रहरूलाई व्यवस्थित रूपमा राख्ने ड्रिम देवदह युनिटी फर चेन्जका सचिव दीपेश बस्यालले जानकारी दिनुभयो ।

कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले कार्यशालाको उद्घाटन गरेकी गर्नुभएको थियो । ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रुपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रवर्द्धक हुन् ।