• १२ मंसिर २०८१, बुधबार

रुपन्देही ट्राफिकद्वारा भारतीय सवारी चालकलाई ‘सम्झाई–बुझाई’ अभियान

blog

भारतीय सवारी चालकका लागि रुपन्देही ट्राफिकले सचेतना अभियान गर्दै । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, वैशाख ३० गते । ट्राफिक नियम पालना र ओभरलोड नियन्त्रणलाई लक्षित गर्दै रुपन्देही ट्राफिकले भारतीय सवारी चालकका लागि सचेतना अभियान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले भारतीय मालवाहक सवारीलाई लक्षित गरी साप्ताहिक ‘सम्झाई–बुझाई’ अभियान सुरु गरेको हो । भैरहवा भन्सार कार्यालय परिसरभित्र यस्तो अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख बजिरसिंह बिष्टले नेपाल भित्रिने मालबाहक सवारीलाई भन्सार परिसरमै विभिन्न नियमबारे जानकारी गराइँदै आएको बताउनुभयो ।

शुक्रबारबाट सुरु अभियान एक सातासम्म सञ्चालन हुनेछ । अभियानका क्रममा भन्सार परिसरमा भारतीय सवारी चालकलाई जम्मा गरेर लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका लगायत ट्राफिक नियमबारे जानकारी गराइनेछ । यसक्रममा कति चक्के गाडीले नेपालमा कतिसम्म सामान बोक्न पाउँछन् भन्नेबारे पनि बुझाइने छ । भारतीय चालकलाई उनीहरुकै भाषामा ट्राफिक नियम सिकाइँदै आएको छ ।

‘‘धेरै भारतीय मालबाहक सवारी चालक र सह–चालकलाई नेपालको ट्राफिक नियमबारे जानकारी छैन, कतिपय जानकारी भएकाले पनि नियमको बेवास्ता गर्ने गर्छन्, यसले दुर्घटना लगायतका समस्या निम्तिने गरेका छन’’, ट्राफिक प्रहरी निरीक्षक विष्टले भन्नुभयो, ‘‘हामीले यसबारे जानकारी गराइरहेका छौं । हाम्रो अभियानले भोलिका दिनमा भारतीय गाडीबाट नियम उल्लङ्घन नहुने विश्वास छ ।’’

ट्राफिकले भारतीय सवारी लक्षित अभियान थालेकाले धेरै सवारी चालक पनि खुशी छन् । नेपालको नियम, कानुन बुझ्न र सिक्न पाउँदा आगामी दिनमा गन्तव्यमा पुग्ने क्रममा सहजता हुने भारतीय सवारी चालकको भनाइ छ । ‘‘कहिलेकाँही नियम नबुझ्दा पनि भारतीय सवारीहरुले नेपालमा आएका दुःख पाउने गरेका छन्’’ विष्टले भन्नुभयो, ‘‘यसैले विशुद्ध भारतीय सवारी लक्षित अभियान थालिएको हो ।’’

भारतीय सवारी चालकलाई लक्षित गरी सीमा क्षेत्र र सडकका विभिन्न ठाउँमा हिन्दी भाषामा पनि ट्राफिक सचेतनाका बोर्डहरु राखिएको छ । अहिले भन्सार परिसरमा दैनिक भारतीय सवारी चालकलाई एकठाउँमा गराई अभिमुखीकरणसहित सम्झाईबुझाई गर्ने काम भइरहेको छ । दुई दिनमा भारतीय नम्बर प्लेटका करिब दुई सय सानाठुला सवारीका चालक–सहचालकलाई ट्राफिक नियमबारे सम्झाईबुझाई गरिएको छ । एक सातामा एक हजार बढी चालक–सहचालक यो अभियानमा जोडिने ट्राफिकको अपेक्षा छ ।

विष्टले भन्नुभयो, ‘‘यसले भोलिका दिनमा भारतीय सवारी चालकहरुको अनुशासनलाई थप अभिवृद्धि गर्ने हाम्रो अपेक्षा छ ।’’ ट्राफिकले यसअघि विभिन्न चरणमा साप्ताहिक अभियानमार्फत् जिल्लाका विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय ट्राफिकले दुर्घटना न्यूनीकरण र लेनअनुशासन तथा सचेतना अभिवृद्धिका कार्यक्रम निरन्तर गर्दै आइरहेको छ । राडर गनमार्फत सवारीको गति मापन, क्याम्पस, विद्यालय, सामाजिक सङ्घसंस्था, चालक, सहचालकलाई सचेतना र ट्राफिक नियमबारे अभिमुखीकरण कार्य गरिरहेको जनाइएको छ ।