• १६ भदौ २०८१, आइतबार

फरक कथाका तीन नाटक

blog

काठमाडौँ, वैशाख ३० गते । अहिले नाटकप्रति दर्शकको रुचि बढ्न थालेको छ । नाटकघरमा दर्शकको भिड बढ्दो छ । यो भिडले रङ्गमञ्चलाई चलायमान पनि बनाएको छ । अहिले प्रायः थिएटरमा नाटकका साथसाथै साहित्य, सङ्गीत र कला जस्ता विषयमा विचार विमर्शका कार्यक्रम भइरहेका हुन्छन् । पहिला नाटक मनोरञ्जनका लागि मात्र हेरिन्थ्यो भने अहिले नाटकलाई केलाउन थालिएको छ । राजधानीका मण्डला, शिल्पी, कौसीलगायतका नाटकघरमा यतिबेला फरक फरक विषयका नाटक मञ्चन भइरहेका छन् ।

बाखाम्मा : मुन्दुममा मान्छे

किरण चाम्लिङ राई निर्देशित नाटक ‘बाखाम्मा : मुन्दुममा मान्छे’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । वैशाख १४ गतेदेखि नियमित मञ्चन सुरु भएको नाटकभित्र किराँतहरूको उत्पत्तिको कथा पस्किन खेजिएको छ । 

किराँत जातिका मानिस धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमी पात्र हुन् बाखाम्मा । मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ) ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन् । किराँत राई जातिको जन्मदेखि मृत्युसम्मका जुनसुकै कर्म गर्दा पनि मुन्दुमी कथा–कैरनहरू भन्नै पर्ने हुन्छ । विशेष गरेर हेत्छाकुप्पा, तायामा र खियामाका कथाका साथै सुम्निमा (पारुहाङ) का अनेकौँ कथा भनिने गरिन्छ । किराँत राईहरूको एकता, साझा आस्थाका प्रतीकका रूपमा ‘सुम्निमा–पारुहाङ’ लाई लिने गरिन्छ । सुम्निमा–पारुहाङले मानव सृष्टि गर्ने सन्दर्भमा भएका घटना नाटकमा देखाइएको छ । 

राजन मुकारुङले लेख्नुभएको नाटकलाई मोसन पिक्चर्सले निर्माण गरेको छ । नाटकमा एलिशा राई, अनिल सुब्बा, वेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्नलगायतको अभिनय रहेको छ ।

बाजी

शिल्पी थिएटरमा नाटक ‘बाजी’ को मञ्चन भइरहेको छ । रविन परियारको परिकल्पना र निर्देशन रहेको नाटक एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथामा आधारित रहेको निर्देशक परियारले बताउनुभयो । उहाँका अनुसार कारागारका बन्दीले अवसर पाएमा आफूलाई सुधार्न सक्छन् भन्ने कथावस्तुमा नाटक आधारित छ ।

ज्ञान मानिस रूपान्तरण हुने संवाहक हो । कारागारमा बन्दीले रूपान्तर हुने अवसर पाउने हो भने धेरै अपराधीले आफूलाई सुधार्न सक्छ । यी कुरालाई निर्देशकले नाटकमा प्रस्तुत गर्न खोज्नुभएको छ । चेखव आफूलाई मनपर्ने नाटक तथा कथाकार भएकाले उनको कुनै रचनालाई मञ्चमा देखाउने रहरले नाटक बनाएको निर्देशक परियारले बताउनुभयो ।

गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जयप्रकाश ताजपुरियाको अभिनय रहेको नाटकमा अनुप तिमिल्सिनाको सङ्गीत संयोजन, प्रकाश परिकल्पना र सञ्चालन प्रेमचन्द पाण्डे र वेषभूषा परिकल्पनामा सङ्गीता उराँव गर्नुभएको छ । सेट परिकल्पना र निर्माण धनराज सुनार र गोविन्द ओलीको रहेको नाटकमा सङ्गीत अरविन्दकुमार मौर्यले दिनुभएको छ ।

‘गिल्टी अर नट गिल्टी’

टेकुस्थित कौसी थिएटरमा जेठ ३ गतेदेखि २६ गतेसम्म नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ । रसियन–अमेरिकन लेखक अयन ¥यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’ का आधारमा नाटक तयार गरिएको निर्देशन तथा डिजाइनर रङ्गकर्मी राजकमल फकिरले बताउनुभयो । अग्रवाल इन्मेस्टमेन्ट भेन्चरका मालिक राधेश्याम अग्रवाल आफ्नो प्रेमिका बस्ने घरको १९ सौँ तलाबाट खस्छन् र उनको मृत्यु हुन्छ । उनको मृत्यु कसरी भयो ? उनले आत्महत्या गरेका हुन् या उनको हत्या भएको हो ? यीनै प्रश्नको वरिपरि घुमेको छ नाटकको कथा । मृत्युको विषयमा केन्द्रित रहेर विभिन्न साक्षीको बयान लिँदै नाटक अगाडि बढ्छ र अन्तिममा घटनाले के कस्तो मोड लिन्छ भन्ने कुरा नाटकको कथाले बताउँछ । 

समापिका गौतम, विजय ताम्राकार, आभास अधिकारी, सदिन लुइँटेल, जेम्स ढकाल, नवीन चन्द्र अर्याल, अरुण पौडेल, विजया पौडेल, सुष्मा निरौलालगायतको अभिनय रहने नाटकको ध्वनी संयोजनमा नरेश गजुरेलले गर्नुभएको छ भने प्रकाशको काम आशन्त शर्माको रहेको छ । निर्देशक फकिरका अनुसार नाटकले समाजमा पैसा, शक्ति र राजनीतिक आडम्बरी स्वभावमा बाँचेको मान्छेलाई चित्रण गर्दै समाजका लागि नैतिकतावाद व्यक्तित्व निर्माणका लागि सन्देश दिने काम गर्छ ।