• १२ मंसिर २०८१, बुधबार

सात महिनामा उल्लेख्य काम भएका छन् : बाँके प्रजिअ पोखरेल

blog

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २९ गते । 
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आफू बाँके आएको सात महिनामा जिल्लामा उल्लेख्य कामहरू भएको बताउनुभएको छ ।

प्रजिअ पोखरेलले आफूले बाँके प्रशासनको नेतृत्व सम्हालेको सात महिना पुगेको भन्दै यस समयमा जिल्लामा सेवाग्राहीहरूले पाउनुपर्ने सेवा सुविधालगायतका काममा सुधारसहित उल्लेख्य कामहरू गरिएको बताउनुभयो ।

तत्कालीन समयमा सामाजिक सद्भाव बिथोलिने अवस्थामा आफूले बाँके प्रशासनको नेतृत्व सम्हाल्न यहाँ आएको उल्लेख गर्दै कर्फ्यु, सेना परिचालनसम्मको विषम परिस्थितिबाट जिल्लाको अवस्था गुज्रिरहेको समयमा सुरक्षा नेतृत्व सम्हालेर सबै सरोकारवाला निकायसँगको सहकार्य र समन्वय तथा सहयोगमा सामाजिक सद्भाव कायम राख्न सकिएको बताउनुभयो ।

त्यसैगरी, जाजरकोट भूकम्प प्रभावित नागरिकहरुको उपचार प्रबन्ध तथा राहत व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरिएको, प्रशासन कार्यालयमा सेवाग्राहीहरूलाई अनलाइन फाराम निःशुल्क व्यवस्थापनसहितको बिचौलियारहित सेवाको सुरुआत गरिएको, एक दिवसीय सेवाको ग्यारेन्टी गरिएको, राजस्व तिर्न बैङ्क तथा सेवाग्राहीबिच सोझो पहुँच स्थापना गरिएको सेवा प्रवाहका अनावश्यक प्रक्रिया कटौती गरिएको (होलसेलमा सबैको प्रहरी सर्जमिन बुझिने, राष्ट्र बैङ्क बुझिने, लैङ्गिक हिंसा पीडित र बाध्यात्मक सनाखत प्रक्रियामा सुधार) लगायतका कामहरू गरिएको उहाँले जानकारी दिनुभयो ।

सहायक प्रजिअ तथा अधिकृतलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको (सामान्य सेवाका लागि समय कुर्नु नपर्ने), टिप्पणी बोकेर सदरमुकाम धाउनु नपर्ने गरी इलाका प्रशासन कार्यालय कोहलपुरलाई पूर्ण अधिकार प्रत्यायोजन गरिएको, पुरानो मुद्दातर्फ फैसलाको २० प्रतिशतको स्थितिलाई ८१ दशमलव ४ प्रतिशत र नयाँ दर्ता भएका मुद्दातर्फ फैसलाको ९ दशमलव ५ प्रतिशतको स्थितिलाई ९४ प्रतिशतको उच्च बिन्दुमा पुर्याएर तारिख माथि तारिखको अन्त्य गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

यो सात महिनाभित्र जिल्ला प्रशासनको प्रथम त्रैमासिकको ७०औँ श्रेणीबाट दोस्रो त्रैमासिकको अन्त्यमा ४९औँ श्रेणीमा स्तरोन्नति गरिएको तथा तेस्रो त्रैमासिक मूल्याङ्कनको नतिजा आउन बाँकी रहेको प्रजिअ पोखरेलले बताउनुभयो । उहाँका अनुसार नागरिक गुनासो/पृष्ठ पोषणका लागि क्यु आर कोडको अध्यास सुरुआत गरिएको, बेरुजु फर्छ्यौटतर्फ ९५ प्रतिशत प्रगति भएको (प्रमाणसहित सम्परीक्षणका लागि पेस गरिएको), चौकीदार तथा नाइकेहरूबाट हुने चुहावट अन्त्यका लागि कारागारका बन्दीहरूको सुविधामा सोझो पहुँच स्थापना गरिएको छ ।

जिल्लाका विभिन्न स्थानमा ४० हेक्टर अतिक्रमित वनक्षेत्र खाली गराइएको, वर्षौंदेखि अनाधिकृत कब्जा भएको पशु क्वारेनटाइन कार्यालयको सरकारी पक्की भवन फिर्ता गराइएको, राजमार्गमा गैरकानुनी सवारी पार्किङ शुल्क असुल्ने कार्यमाथि रोक लगाइएको, पाँच सय १३ वटा फर्म, पसल तथा उद्योगको अनुगमन गरिएको, एक सय तीन उपर कारबाही गरी सात लाख ७७ हजार रुपियाँ जरिवाना गरी नागरिक तहमा प्रशासन रहेको अनुभूति प्रदान गर्न सफल रहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

एसइई परीक्षामा ह्वाट्स एप ग्रुप बनाएर विद्यार्थीलाई चिट चोर्ने चोराउने कार्यमा संलग्न एक निजी स्कुलका प्रिन्सिपल र शिक्षकमाथि मुद्दा चलाइएको, उक्त कार्यमा संलग्न केन्द्राध्यक्षसहितको सम्पूर्ण टिमलाई नै तत्कालै जिम्मेवारीबाट हटाइएको, प्रश्नपत्र आउट गराइ उत्तर सप्लाई गर्ने कन्सल्टेन्सीविरुद्ध मुद्दा दर्ता गराइएको, नक्कली औषधी, नक्कली औषधी पसल र नक्कली बिक्रेतालाई पक्राउ गरी अदालतमार्फत जेल चलान गरिएको उहाँले बताउनुभयो ।

प्रजिअ पोखरेलले सरकारी अनुदान प्राप्त मल हिनामिना गर्ने सहकारीउपर कारबाही गरी दुई लाख जरिवाना गराइएको, सडेगलेको बासी खानेकुरा बेच्ने होटललाई एक लाख जरिवाना गराइएको, अनुमति बिना नै सरकारी पुस्तक बिक्री गर्ने तथा मूल्य सूचीसमेत नराख्ने एक पाठ्यपुस्तक बिक्रेतालाई ५० हजार रुपियाँ जरिवाना गरिएको, मापदण्डको पालना नगरी पानी उत्पादन तथा आपूर्ति गर्ने उद्योगलाई ५० हजार रुपियाँ जरिवाना गरिएको जानकारी दिनुभयो ।

उहाँले अवैध व्यापार/तस्करीविरुद्धको मुद्दा दर्तातर्फ र राजस्वतर्फ प्रतिवेदन मूल्यमा गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष उल्लेख्य प्रगति हासिल भएको, विभिन्न ३८ जना पेशेवर तस्करहरूलाई मुद्दा चलाइएको, ढाई वर्षदेखि अवरुद्ध १३२ केभी प्रसारण लाइनको मुआब्जा विवादमध्ये दुईवटा टावरको तारमुनिको क्षतिपूर्ति निर्धारण तथा वितरण सम्पन्न गरिएको, बाँकी विवाद समाधानका लागि उपसमिति गठन गरिएको, निकुञ्ज खण्डको रुख छपानको कार्य सम्पन्न गरिएको तथा “सामूहिक काम, सामूहिक माम” अभियानअन्तर्गत कार्यालय र परिसरभित्र सौन्दर्यीयकरणको कार्य गरिएको बताउनुभयो ।

प्रजिअ पोखरेलले सबै सरोकारवाला पक्षसँगको बलियो समन्वय, सल्लाह सुझाव तथा सहकार्यबाट नै सबै काम सम्भव भएको भन्दै सहयोग र सद्भावका लागि सबै पक्षलाई धन्यवादसहित आभार प्रकट गर्दै आगामी दिनमा पनि यसैगरी सहयोगको अपेक्षा गरिएको बताउनुभयो । प्रजिअ पोखरेल जिल्ला प्रशासन कार्यालय इलामबाट गत असोज २८ गते सरुवा भई बाँके आउनुभएको हो ।