• १६ भदौ २०८१, आइतबार

‘बक पत्र’माथि विमर्श

blog

पिटरको पुस्तक बक पत्रमाथि विमर्श कार्यक्रममा सहभागी वक्ताहरू । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २९ गते । 
लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बक पत्र’माथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु शृङ्खलाको चौथो अङ्कमा पिटरको पुस्तक बक पत्रमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा साहित्यकार सनत रेग्मी, पत्रकार झलक गैरे र अध्यापक भागवत पौडेलले पिटरको पुस्तक बक पत्रमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागीहरूले पनि आफ्ना जिज्ञासा लेखकसमक्ष राखेका थिए लेखक पिटरले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले पिटरको पुस्तकमाथि मिश्रित धारणा राखेका थिए । अध्यापक पौडेलले बक पत्रमा सबाल्टर्नहरुका कुराले प्राथमिकता पाएको र जनयुद्धले उठाएको सर्वहाराको मुक्तिको सपना तुहिएकोमा लेखकद्धारा व्यक्त तीव्र असन्तुष्टि पठनीय र चर्चायोग्य रहेको बताउनुभयो । उहाँले बक पत्रमा बाँके बर्दियाका नलेखिएका धेरै पाटाहरू समेटिएको पनि उल्लेख गर्नुभयो ।

पत्रकार गैरेले पिटरले बक पत्र भनेपनि आफ्नो जीवनका धेरै पाटाहरूमा पर्दा हालेको टिप्पणी गर्नुभयो । उहाँले पिटरले कतिपय कुरा पुस्तकमा लेख्न नसकेको उल्लेख गर्दै त्यसो हुनुका कारण स्पष्ट हुनुपर्ने बताउनुभयो ।

साहित्यकार रेग्मीले बक पत्रमा पिटरले धेरै विषय छोएको तर ती विषयका सबै आयामहरू उल्लेख नगरेको बताउनुभयो । उहाँले बक पत्रमा निराशा हाबी भएको बताउँदै पिटरले माओवादी आन्दोलन र त्यसको हालको निराशाजनक परिणतिप्रति निर्भीक भएर आफ्ना कुराहरू राख्न सफल भएकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले पिटरको राजनीतिक जीवनमा आएका उतारचढाव र उहाँको अहिलेको राजनीतिक एवम् वैचारिक अडानका विषयमा जिज्ञासा राखेका थिए । टिप्पणीकर्ता र सहभागीहरूका जिज्ञासा र दृष्टिकोणमाथि आफ्नो प्रतिक्रिया राख्दै पिटरले आफ्ना जीवनका सबै घटनाहरू पुस्तकमा जस्ताको तस्तै उतार्न कठिन हुने बताउनुभयो । यद्यपि आफूले आफ्नो जीवन दर्शनलाई र मुक्तिको सपना देखेर जीवनको बाजी राखी होमिएको आन्दोलन तुहिएकोप्रति घृणा अभिव्यक्त गरेको बताउनुभयो ।

“कुनै बेलाको नायक कुनै बेला खलनायकमा परिणत हुन सक्छ, नायक रहेको बेला उसलाई प्रेम र खलनायक बनेको बेला घृणा गर्न सक्नुपर्दछ ।,” पिटरले भन्नुभयो, “म अहिलेपनि माओवादी हुँ, पहिले म पार्टीमा थिएँ, पार्टीको माओवादी थिएँ, अहिले सडकमा छु, पार्टीको होइन सडकको माओवादी हुँ ।”

कार्यक्रममा बाँकेका राजनीतिक अगुवा, लेखक, अध्यापक, समाजसेवी लगायतका व्यक्तिहरूको सहभागिता थियो ।