• १२ साउन २०८१, शनिबार

चितवनका होटलमा २५ प्रतिशतसम्म छुट

blog

वसन्त पराजुली

नारायणगढ, वैशाख २९ गते । भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै चितवनका होटल तथा रेस्टुरेन्टले खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने भएका छन् । होटल व्यवसायीको छाता संस्था चितवन होटल व्यवसायी सङ्घले चितवन घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै मेनु रेटमा खानामा १५ प्रतिशत र कोठामा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेसँगै व्यवसायीले पनि सो छुट दिने भएका हुन् । 

सङ्घका अध्यक्ष लोकनाथ भट्ट भरतपुर भ्रमण वर्ष घुम्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले छुट प्याकेज घोषणा गरिएको बताउनुभयो । “भरतपुर घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूले महसुस हुने गरी छुट सुविधा पाउन भन्नेमा हामी होटल व्यवसायीहरू छौँ,” उहाँले भन्नुभयो । पर्यटकीय सुविधा सम्पन्न भएका ६५ वटा होटलसहित भरतपुरका पाँच सय होटल र सात सय रेस्टुरेन्टमा छुट सुविधा लागु गरेका छन् । भरतपुर महानगरका पर्यटनविज्ञ डा. विश्वराज सुवेदी होटलहरूले घोषणा गरेको छुट दिएका नदिएका सम्बन्धमा पनि अनुगमन जारी रहेको बताउनुभयो । 

“हामीले नगर प्रहरी नै लगाएर हरेक होटलमा छुट प्याकेजका पोस्टरहरू टास्न सुरु गरेका छौँ । अब हामी होटलहरूले त्यो लागु गरे नगरेका पनि अनुगमन गछौँ,” उहाँले भन्नुभयो । 

भरतपुरभित्रको आर्थिक कारोबारमा चलायमान गराउने उद्देश्यले भरतपुर महानगरले भरतपुर भ्रमण वर्ष २०२४ घोषणा गरेर विभिन्न कार्यक्रम गरिरहेको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको मुख्य नगरी नै भरतपुर हो । चितवन राष्ट्रिय निकुञ्ज, धार्मिक क्षेत्र देवघाट, नारायणी, राप्ती जस्ता ठुला नदीहरूले नै भरतपुरको पर्यटन विकासमा टेवा दिइरहेका छन् ।