• ७ जेठ २०८१, सोमबार

भौतिक विकाससँगै मानव विकासमा जोड दिइएको छ

blog

रौतहटको ऐतिहासिक बौधीमाईको मन्दिरका नामबाट बौधीमाई नगरपालिकाले आफ्नो परिचय पाएको छ । नगरपालिकाले हरेक क्षेत्रको समुचित विकास गर्दै मानव विकासमा पनि उत्तिकै जोड दिने प्रयास गर्दै आएको छ । मानव विकासका लागि स्वास्थ्य र शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेको छ । सोही नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवसँग गोरखापत्रका गौर समाचारदाता सञ्जयकुमार मिश्रले गर्नुभएको कुराकानी :

नगरपालिकाको प्रमुखको कार्यभार समाल्नुभएको पनि करिब दुई वर्ष हुन लाग्यो । यो अवधिलाई तपाईं स्वयम्ले कसरी समीक्षा गर्नुभएको छ  ?

मैले नगर प्रमुख पदमा निर्वाचित भई विसं २०७९ जेठ १६ गते पदभार ग्रहण गरेको हुँ । पदभार ग्रहण गर्दा नै यस नगरपालिका अन्तर्गत वडा नं. ८ मा पर्ने गुजरामाईको पर्ती (ऐलानी) जग्गालाई अतिव्रmमण हुनबाट जोगाएर त्यहाँ खेलकुदका लागि राम्रो स्टेडियम बनाउने पहिलो निर्णय गरेको थिएँ । अघिल्लो पाँच वर्षमा नगरपालिकाको ऐन कानुन निर्माण नभइसकेकाले मलाई काम गर्न धेरै असहज भएको थियो । अहिले धेरै कानुन बनिसकेकाले निकै सहज महसुस हुँदै छ । नगरपालिकाभित्र शिक्षा, कृषि, सडक सञ्जाललगायतका पूर्वाधारका गुरुयोजना बनाएर त्यसका लागि आवश्यक नियमावली, कार्यविधिसमेत निर्माण गरेर काम गर्दै आएका छौँं ।  निर्धारित समयमा नै नगरपरिषद् सम्पन्न हुँदा पनि विकास निर्माणलगायत अन्य कामलाई गति प्रदान गर्न सकिएको छ । 

विकास निर्माणमा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?

धेरैजसो जनताको बुझाइमा विकास निर्माण भन्नाले सडक पुल, पुलेसा, ढल जस्ता भौतिक निर्माण मात्र भन्ने छ तर मेरो बुझाइमा ती सँगसँगै मानव विकास पनि उत्तिकै जरुरी छ । सबैभन्दा पहिला व्यक्तिको स्वस्थ र त्यसपछि शिक्षा सबै विकासको पूर्वाधार हुन् । यी क्षेत्रको विकासका लागि सबैभन्दा पहिला स्वास्थ्य संस्थाबाट आमनागरिकले पाउने निःशुल्क औषधी सही तरिकाबाट उपलब्ध गराउनु पर्छ । त्यसको जानकारी सबै सर्वसाधारणलाई गराउन ती औषधीको  विवरण अस्पताल र फार्मेसीमा झुन्ड्याउन लगाएको छु । साथै स्वास्थ्य क्षेत्रमा रहेका अन्य समस्यालाई सम्बोधन गरी समुचित सेवा प्रवाहको काम गरिएको छ । यसरी स्वास्थ्य क्षेत्रको विकासमा रौतहटलाई अब्बल बनाउने प्रयास गरिएको छ । 

त्यस्तै शिक्षा क्षेत्रमा सुधार गर्न  शिक्षा ऐन निर्माण गरी विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गरिएको छ । शिक्षक भर्ना गर्दा खुला विज्ञापन गर्ने गरिएको छ । कुनै पनि विषयमा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण नभएको खण्डमा त्यस विषयको शिक्षकको सेवा सुविधा कटौती गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रमदेखि लिएर व्यापक प्रचारप्रसार तथा सडक नाटक प्रदर्शन र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन् । विद्यालय भवन धमाधम निर्माण भइरहेका छन् । समयमा नै विद्यार्थीका हात हातमा पाठ्यपुस्तक पु-याउने र घोषित छात्रवृत्ति उपलब्ध गराउन सकिएको छ । 

सडक सञ्जालको स्तरोन्नतिका लागि कसरी काम गर्दै आउनुभएको छ ? 

बाटोघाटो निर्माणका लागि सडक गुरुयोजना निर्माण गरिएको छ । नगरपालिकाभित्र कुल १५४.२६ किलोमिटर सडक रहेको छ ।   त्यसमध्ये १४.४१  किमी कालोपत्रे सडक भएको छ । त्यस्तै ३४.०२ किलोमिटर सडक ढलान गरिएको छ भने ४३.५१ किमी सडक ग्राभेलसम्म गर्न सकिएको छ । बाँकी सडक अझै कच्ची नै छन् ।  क्रमशः ती सडकको स्तरोन्नति गर्दै जाने योजना छ । 

नगरपालिकाभित्रका सार्वजनिक जग्गाको अवस्था कस्तो छ ?

सङ्घीय सरकार गृह मन्त्रलायको परिपत्र आउनुअघि नै हामीले सरकारी जग्गाको तथ्याङ्क सङ्कलन गरी अभिलेख तयार गरेर राख्ने काम गरिसकेका छौँ । प्राप्त तथ्याङ्कको अध्ययन गर्दा २७६ विघा ११ कट्ठा आठ धुर जग्गा नेपाल सरकारको रहेको देखिएको छ ।  त्यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व हो । त्यसमा हामी गम्भीर भएर लागेका छौँ । 

कृषि क्षेत्रको विकासका लागि  नगरपालिकाले के कस्ता योजना अगाडि सारेको छ ?

यहाँका बासिन्दाको प्रमुख आयस्रोत नै कृषि हो । त्यसको विकास नगरी यहाँ समृद्धिको परिकल्पना गर्नु बेकार हुन्छ । त्यसैले  किसानलाई बिउबिजन, मलखाद, सिँचाइ अनुदान बढाउनु पर्छ भन्ने मेरो मान्यता छ । यद्यपि हाल केन्द्रीय सरकारबाट नै रासायनिक मलमा केही अनुदान प्राप्त भइरहेकाले नगरपालिकाले चाहेर पनि दोहोरो पर्ने गरी अनुदान थप गर्न मिल्ने अवस्था छैन । त्यसैले के कसरी र कुन कुन क्षेत्रमा रहत पु-याउन सकिन्छ भनी हामीले प्रयास गरिरहेका छौँ । कृषि पेसाबाट उदासीन हुँदै गएका किसानलाई प्रोत्साहन गर्न, पशुपालनतर्फ आकर्षित गराउने विभिन्न योजना बनाएका छौँ । जस्तै किसानले  कति जगामा खेती गर्दै आएको छ, के कस्ता पशु के कति सङ्ख्यामा पालन गर्दै आएको छ भन्ने तथ्याङ्क तयार गरेर राखिएको छ । पशु बिमाको योजना सञ्चालन भइसकेको छ । बाली बिमा कार्यको पनि अगाडि बढाएको आवश्यक कानुनी प्रव्रिmया अगाडि बढाएको छु । 

नगरपालिका कार्यसमिति सदस्यबिच कस्तो सम्बन्ध छ ?

 यस पालिकामा कुनै पनि दलले बहुमत प्राप्त गरेको अवस्था छैन ।  विभिन्न दल र सिद्धान्त अवलम्बन गरेका जनप्रतिनिधि हुनुहुन्छ तर पनि नगरपालिकाको विकास निर्माणको सवालमा सबैलाई समेटेर, सबैको सहमतिमै अगाडि बढ्ने मेरो सधैँको प्रयास रहँदै आएको छ । साथीहरूबाट पनि हालसम्म सहयोग मिलिरहेको छ । फरक विचार र फरक राजनीतिक धारका कारण कहिलेकाहीँ सामान्य मतभेद देखिए पनि प्रजातन्त्रमा त्यसलाई स्वाभाविक नै मान्नु पर्छ । 

नगरपालिकामा सुशासन प्रवर्धनका लागि कसरी काम गरिरहनुभएको छ ?

जनताको काम सहज तथा सरल ढङ्गले नियमानुसार हुने गरेको छ । सुशासन प्रवर्धनका लागि हरेक वडा तथा कार्यालयदेखि विद्यालयमा ई हाजिरी मेसिन जडान गरिएको छ । वडाहरूमा नगरपालिकाको कामबारे जानकारी गराउन सार्वजनिक सुनवाइ कार्यक्रम नियमित सञ्चालन गरिएको छ । जनताको गुनासो सुन्न तथा सम्बोधन गर्नका लागि हेलो मेयर कार्यक्रम सञ्चालन गरिएको छ । जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न कर्मचारीलाई समय समयमा प्रशिक्षण दिइँदै आइएको छ । जनताको कामकाज सहज, सरल तथा नियम अनुसार छिटोभन्दा छिटो गर्न विषयगत कर्मचारीलाई पहिले नै निर्र्देशन दिइसकेको छु । 

सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता वितरणको अवस्था कस्तो छ ?

म नगर प्रमुखमा निर्वाचित भएपछि सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणका लागि बैङ्कको प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेर प्रत्येक वडा वडामा बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । वडा कार्यालयसम्म पनि आउन नसक्नेलाई घरमा गएर बैङ्कले भत्ता वितरण गरिरहेको छ । यसरी भत्ता वितरण गर्ने मधेश प्रदेशको यो नगरपालिका पहिलो हो ।