• ७ जेठ २०८१, सोमबार

स्नान कक्षसहितको सार्वजनिक शौचालय

blog

काठमाडौँ, वैशाख २८ गते । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलमा स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भई बिहीबारबाट प्रयोगका लागि खुला गरिएको हो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वडामा निर्माणाधीन अन्य शौचालय पनि अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक र वातावरणमैत्री हुने जानकारी दिनुभयो । उहाँले लगनखेलमा समेत अत्याधुनिक शौचालय आवश्यक रहेको र निर्माणका लागि डिपिआर भइसकेको बताउनुभयो । शौचालय उद्घाटन कार्यक्रममा महानगर प्रमुख महर्जनले भन्नुभयो, “असल अभ्यास अवलोकन गर्ने क्रममा बङ्गलादेश पुग्दा स्नान कक्ष देखेपछि महानगरले डिजाइनमा परिवर्तन गरेर स्नान कक्ष थप गरिएको हो ।”

वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले यस वडामा चिडियाखाना रहेको र भोटो देखाउने जात्राका बेला शौचालय अपर्याप्त हुने गरेकोमा अब भने सहज हुने विश्वास व्यक्त गर्नुभयो । एरोसानका प्रतिनिधिले दिसाजन्य लेदोबाट ऊर्जा उत्पादन गरिने जानकारी गराउनुभयो । महानगरपालिकाले वडा नं. ८, ९, २, १०, २४, २५ र २७ मा सार्वजनिक शौचालय निर्माण गर्दै छ । छ वटै शौचालय निर्माण अन्तिम चरणमा छ । महानगरपालिकाले सात वटा वडामा सार्वजनिक शौचालय निर्माण गर्दै छ । यस कार्यक्रम अन्तर्गत मङ्गलबजार, पाटनढोका र जावलाखेलमा अत्याधुनिक शौचालय निर्माण भएका छन् । नवनिर्मित शौचालयमा शिशुलाई स्तनपान गराउने छुट्टै कोठाका साथै प्रयोगका लागि ‘सेनेटरी प्याड’ राखिएको छ ।