• ७ जेठ २०८१, सोमबार

मुस्लिम समुदायले शिक्षामा जोड दिनुपर्छ : अध्यक्ष अन्सारी

blog

नरैनापुरमा अनुगमनमा सहभागि अध्यक्षसहितको टोली। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख २७ गते। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ। 

बाँकेको नरैनापुर गाँउपालिकामा रहेका मदरसाहरुको स्थलगत अनुगमन गर्दै आयोगका अध्यक्ष अन्सारीले मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेको जनाउँदै शिक्षामा बिशेष फोकस गर्नु आवश्यक रहेको बताउनुभयो। 

उहाँले राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि आयोगले निरन्तर पहल गर्दै आएको पनि बताउनुभयो। 

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको बताउँदै लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा संचालन गरिरहेको जानकारी दिँदै शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष अन्सारी सहितको टोलीलाई रैनापुरमा स्वागत गर्दै गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा २६ वटा मदरसा रहे पनि भौतिक पूर्वधार र योग्य जनशक्ति नहुँदा मदरसाको अवस्था दर्दनाक रहेको बताउदै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नुभएको थियो।

आयोगका सदस्य शम्सुल हकले आफूहरुले हकअधिकारका लागि विगतमा लडाइँ लडेको बताउँदै उहाँँले त्यसको उपलब्धि स्वरुप धेरै कुरा प्राप्त हुँदै आएको भए पनि पूर्णरुपमा अधिकार स्थापित भइनसकेको जिकिर गर्नुभयो। 

कार्यक्रममा मुस्लिम आयोगका सदस्य महमदिन अली, नरैनापुर २ का वडा अध्यक्ष मसूद शाह, डा. वकार, समाजसेवी रिजवान अहमद शाह लगायत स्थानीयहरुको सहभागिता रहेको थियो।