• ७ जेठ २०८१, सोमबार

पोउवा सङ्घका सदस्यको दुर्घटना बिमा

blog

बीमा सम्झौता गर्दै पदाधिकारीहरु

रमेश पौडेल

पोखरा, वैशाख २७ गते । पोखरा उद्योग वाणिज्य सङ्घले आफ्ना सदस्यहरूको दुर्घटना बिमा गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडमार्फत सङ्घले सदस्यता नवीकरण गरेकाहरूको हकमा एक लाख रुपियाँ बराबरको दुर्घटना बिमा गराएको अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो बिमा सम्झौता अनुसार एक वर्षभित्र सदस्यहरूको दुर्घटना भएमा त्यसबापत बढीमा एक लाख रुपियाँसम्मको बिमा रकम प्रदान गरिनेछ । सम्झौतापत्रमा सङ्घका अध्यक्ष प्रजापति र हिमालयन एभरेण्ट इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले हस्ताक्षर गर्नुभएको छ । 

सोही सन्दर्भमा अध्यक्ष प्रजापतिले भन्नुभयो, "हामीले हाम्रा सदस्यहरूको हकमा सङ्घको तर्फबाट सानो भए पनि दायित्व निर्वाह गरौँ भन्ने हेतुले बिमा गराउने यो निर्णय गरेका हौँ ।" नवीकरण गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई यस कार्यक्रममा समेटिएको उहाँले बताउनुभयो । 

बिमा कम्पनीसँग गरिएको सम्झौता अनुसार दुर्घटनादेखि औषधी उपचारसम्मका सम्पूर्ण सेवा सदस्यहरूले प्राप्त गर्नेछन् । पोखरा उद्योग वाणिज्य सङ्घका सदस्यहरूले चैत मसान्तसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने महासचिव बलराम आचार्यले बताउनुभयो । उहाँका अनुसार कथमकदाचित् छुटेमा अतिरिक्त दस्तुरसहित असार मसान्तसम्म नवीकरण गर्ने समयावधि प्रदान गरिन्छ । नयाँ सदस्यको हकमा चाहिँ सङ्घले बाह्रै महिना सदस्यता प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । स्थानीय कर प्रशासनमा दर्ता गरेको प्रमाणपत्रसहित आवेदन दिनेलाई छानबिनपछि सदस्यता प्रदान गरिने उहाँको भनाइ छ । 

सदस्यहरूलाई थप सुविधा प्रदान गर्ने हेतुले यसअघि नै पोखराको मणिपाल अस्पतालसँग स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुटसम्बन्धी सम्झौता, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीसँग बस भाडामा १५ प्रतिशतसम्म छुट र अन्नपूर्ण केबलकारसँग टिकटमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुभयो । त्यसरी छुट लिनको लागि सङ्घको परिचयपत्र भने देखाउनुपर्नेछ ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य वसन्त उदास र राजेन्द्रकुमार लालचन तथा पूर्वअध्यक्ष नारायण कोइरालासहित नेपाल बिमा प्राधिकरणका गण्डकी प्रमुख  केशवप्रसाद दाहाल, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रदेश नियन्त्रक हरिप्रसाद श्रेष्ठसहित सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो ।