• ७ जेठ २०८१, सोमबार

गर्मीयाममा नेपालगन्जको माग धान्न ४० मेगावाट विद्युत् आवश्यक

blog

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको कार्यालय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २७ गते ।
देशकै अत्यधिक गर्मी हुने ठाउँमध्येको एक नेपालगन्जमा गर्मीयाममा ४० मेगावाट विद्युत् आवश्यक हुने गरेको छ । ४० मेगावाट विद्युत् आवश्यक रहे पनि हाल ३० देखि ३२ मेगावाट विद्युतले नेपालगन्जको माग मुश्किलले धानिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमार्फत हाल ३० देखि ३२ मेगावाट विद्युत् वितरण भइरहेको वितरण केन्द्रका सहायक प्रबन्धक इ.जगन्नाथ लामिछानेले जानकारी दिनुभयो । उहाँले गर्मीयाममा नेपालगन्ज वितरण केन्द्रमार्फत वितरण हुने विद्युतको माग ४० मेगावाट रहेको बताउनुभयो ।

“नेपालगन्जलाई गर्मी सिजनमा ४० मेगावाट विद्युत् आवश्यक छ, हामीसँग अहिले प्राप्त ३० देखि ३२ मेगावाट विद्युत् वितरण गरिरहेका छौं ।,” इन्जिनियर लामिछानेले भन्नुभयो, “यति विद्युतले नेपालगन्जको सम्पूर्ण माग पूरा गर्न सकेको छैन, मागअनुसारको विद्युत् वितरण गर्नका लागि हामी लागिरहेका छौं ।”

कोहलपुर सबस्टेशनबाट राष्ट्रिय प्रसारणको विद्युत् नेपालन्ज ल्याउने कार्य अहिले भइरहेको भन्दै उहाँले अबको केही दिनमा नेपालगन्जमा विद्युतको समस्या समाधान हुने बताउनुभयो । “कोहलपुर सबस्टेशनबाट राष्ट्रिय प्रसारणको थप विद्युत् ल्याउने काममा जुटेका छौं, कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारण लाइन (नयाँ लाइन) निर्माण गरिरहेका छौं, यस प्रसारण लाइनबाट अधिकतम १५ मेगावाटसम्म विद्युत् नेपालगन्ज पुग्नेछ ।,” उहाँले भन्नुभयो, “केही दिनभित्र यो काम सक्ने लक्ष्य लिएका छौं, काम सम्पन्न हुने बित्तिकै थप विद्युत् प्राप्त हुने र नेपालगन्जको विद्युत् समस्या समाधान गर्ने प्रयास गर्नेछौं ।”

गत वर्षसम्म नेपालगन्जका लागि भारतीय प्रसारण लाइनबाट विद्युत् ल्याइने गरे तापनि यस वर्षबाट भने नेपालकै विद्युत् नेपालगन्जमा वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपालको विद्युत प्रसारणमा केही समस्या आएमा मात्र आवश्यकताका आधारमा भारतबाट विद्युत् लिन सकिने उहाँले बताउनुभयो ।

हाल कोहलपुरबाट नेपालको राष्ट्रिय प्रसारण लाइनमार्फत् कोहलपुर–नेपालगन्ज ३३ केभी डबल सर्किटमार्फत करिब ३०–३२ मेगावाट विद्युत् नेपालगन्जमा आपूर्ति भइरहेको सहायक प्रबन्धक लामिछानेले जानकारी दिनुभयो । नेपालगन्जको विद्युत् मागलाई ध्यानमा राख्दै वितरण कार्यलाई थप मजबुत बनाउन हिउँदको समय देखिनै नेपालगन्जभित्र विभिन्न क्षमताका ५५ वटा नयाँ ट्रान्सफर्मर जडान गरिएको उहाँले बताउनुभयो ।

जाडोयाममाभन्दा गर्मीयाममा नेपालगन्जमा चार गुणा बढी विद्युतको माग हुने गरेको उहाँले बताउनुभयो । “जाडो सिजनमा भन्दा गर्मीमा नेपालगन्जमा चार गुणा बढी विद्युतको माग हुन्छ, जाडो सिजनमा करिब १० मेगावाटले पुग्ने विद्युत् गर्मीयाममा करिब ४० मेगावाट विद्युत् चाहिन्छ ।,” उहाँले भन्नुभयो, “वैशाख महिनादेखि नै विद्युत् खपत बढ्ने गरे पनि  जेठ र भदौ महिनामा अत्यधिक विद्युत् माग हुन्छ ।”

नेपालगन्ज वितरण केन्द्रमार्फत तीन वटा सबस्टेशन राखी विद्युत् वितरण गरिरहेको ई. लामिछानेले जानकारी दिनुभयो । “हाम्रो केन्द्रमार्फत तीन वटा सबस्टेशन राखेका छौं, दुई वटा नेपालगन्जमै र एउटा राप्तीपारी राप्तीसोनारीको धामपुरमा छ ।,” उहाँले भन्नुभयो, “तीन वटा सबस्टेशनका १७ वटा फिडरमार्फत ११ केभी विद्युत् प्रसारण लाइनबाट विद्युत् वितरण गरिरहेका छौं ।”

केही दिनदेखि नेपालगन्जमा विद्युत् आपूर्तिमा समस्या आएको र विद्युत् लामो समयसम्म काटिने गरेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् । साँझको समयमा लामो समयसम्म विद्युत् आपूर्ति नहुने समस्या यहाँबाट नभ राष्ट्रिय प्रसारण लाइनबाटै सिस्टम गएका कारण हुने गरेको इ. लामिछानेको भनाइ छ ।

“एक दुई दिनदेखि साँझको समयमा करिब एक घण्टा विद्युत् अवरुद्ध हुने गरेको छ, त्यो समस्या यहाँबाट नभ राष्ट्रिय प्रसारण लाइनमै सिस्टम गएका कारण हुने गरेको हो ।” उहाँले भन्नुभयो, “सिस्टम गएको लाइनलाई पुनः रिस्टोर गर्न करिब एक घण्टा लाग्ने गर्दछ ।”

हाल विस्तार भइरहेको कोहलपुर–नेपालगन्ज ३३ केभी प्रसारणको नयाँ लाइनको काम सम्पन्न भइसकेपछि त्यहाँबाट आउने १५ मेगावाट विद्युत् थप भएपछि गर्मीयाममा हुने नेपालगन्जको विद्युतको मागलाई सम्बोधन गर्न सकिने इ. लामिछानेको भनाइ छ ।