• २ जेठ २०८१, बुधबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

जनार्जन खत्री/माला कर्ण/ललिता साह

जनकपुर, वैशाख ९ गते  । मधेस प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्रममा बिहीबार सर्लाहीका २० वटै स्थानीय तहमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सम्पन्न गर्न जिल्लाका ११ वटा नगरपालिका र नौवटा गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो । बिहीबार नै सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृत र १९ वटा स्थानीय तहको कार्यालय रहेकै भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । सदरमुकाम मलङ्गवा नगरपालिकाको हकमा भने मुख्य निर्वाचन अधिकृत पियाले नै निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नु भएकाले त्यहाँ निर्वाचन अधिकृतको बेग्लै कार्यालय खोलिएको छैन । 

वैशाख ३० को निर्वाचन गराउन सर्लाहीका २० वटै पालिकामा मतदान अधिकृत खटिसक्नु भएकोछ । निर्वाचन आयोगको प्रतिनिधिका रूपमा पालिकामा खटिनुभएका उहाँहरूले चुनावको सबै तयारीदेखि मतदान र मतगणनापछि निर्वाचित जनप्रतिनिधिको घोषणा गर्नु हुनेछ ।

सर्लाहीमा वैशाख ३० को निर्वाचनका लागि चार लाख ७४ हजार ४३९ मतदाताको अन्तिम नामावली कायम भएकोछ । जसमा दुई लाख ५७ हजार १३८ जना पुरुष, दुई लाख १७ हजार २९२ जना महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

२०७४ सालको निर्वाचनमा सर्लाहीमा कुुल मतदाताको सङ्ख्या तीन लाख ६६ हजार ६०५ रहेको थियो । अहिले एक लाख सात हजार ८३४ जना मतदाता थपिएका छन् । यस्तै सर्लाहीमा ३१८ वटा मतदान स्थल र ५९९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो । मतदान स्थल पहिला पनि ३१८ वटै रहेको थियो । मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पु¥याइएको र मतदाता बढेको आधारमा मतदान केन्द्र थपिएको कार्यालय प्रमुख भुजेलले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा राष्ट्रिय मान्यता प्राप्त छवटा र अन्य २९ वटा गरी ३५ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।यस्तै, सप्तरीको १८ वटै स्थानीय तहमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारीअनुसार जिल्लाका १८ वटै स्थानीय तहमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

जिल्लाको सदरमुकाम राजविराजस्थित खेलकुद विकास समितिको कार्यालयमा राजविराज नगरपालिकाको मुख्यनिर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । 

यस्तै बिहीबार सप्तरीको खडक नगरपालिकामा खटिएका निर्वाचनअधिकृत मो.मुन्ना मियाँको उपस्थितिमा खडक नगरपालिका–७, कल्याणपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने खडक नगरपालिका निर्वाचनअधिकृत मो. मुन्ना मियाँले बताउनुभयो । मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत यही कार्यालयले गर्ने उहाँले जानकारी दिनुभयो । 

यता जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले निर्वाचनका लागी कर्मचारीको विवरणसहितको तथ्याङ्क सङ्कलन भइसकेको तथा मतदान केन्द्रमा पठाइने आवश्यक सामग्रीसहितको व्यवस्थापन थालिएको जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने अनुसूूची फारामलगायतका जिल्लाबाट खरिद गर्न मिल्ने १७ प्रकारका सामग्रीसमेत खरिद गरी प्याकिङ गर्ने काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । चुनावी तालिकाअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ गते मनोनयन पत्र र उजुरी जाँचबुझ गरी १६ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।