• १७ असार २०८१, सोमबार

वृद्धाश्रमका नागरिक मतदानबाट वञ्चित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते ।  स्थानीय तहको निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिक मतदाता रहनुपर्नेमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरू मतदान गर्नबाट वञ्चित हुनुहुनेभएको छ । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम नरहेको र केहीको मतदाता परिचयपत्र नै नबनेको हुँदा उहाँहरू मतदानबाट वञ्चित हुने अवस्था आएको हो । पशुपति क्षेत्रमा रहेको सरकारी वृद्वाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम छैन, परिचयपत्र बन्ने त कुरै भएन । उक्त वृद्धाश्रममा ९९ ज्येष्ठ नागरिक स्थायी रूपमा आश्रित हुनुुहुन्छ । वृद्वाश्रम प्रशासन प्रमुख ओमप्रसाद पाण्डेका अनुसार यहाँ आश्रित ज्येष्ठ नागरिकको मतदाता परिचयपत्र बनाउन कतैबाट पहल नै भएन । 

यसअघि वृद्वाश्रममा आश्रितले वडा नं. ८ मतदान केन्द्रमा मतदान गर्दै आउनुभएको थियो तर विगतमा मतदान गर्नेहरू अहिले जीवित हुुनुहुन्न । कुल २३० दरबन्दीमा अहिले ९९ जना नयाँ आश्रित वृद्वाश्रममा हुनुहुन्छ ।

सोह्रखुट्टेस्थित ओल्ड एज होम नामक वृद्वाश्रममा पनि आश्रितको मतदानका लागि विवरण नै लिइएन । होमकी कार्यालय सचिव प्रभा सिटौलाका अनुसार सम्बद्व वडा कार्यालयले मतदाता परिचयपत्रका लागि पहल गरेको भए पनि बसाइँसराइलगायतका कागजात तयार गर्नुपर्ने झन्झट आएकाले त्यो कार्य रोकिएको हो । उक्त होममा नौ जना ज्येष्ठ नागरिक आश्रित हुनुहुन्छ । 

पशुपति क्षेत्रमा गुरुयोजना लागू गर्दा हटाइएका ११९ घरपरिवार वडा नं. ७, ६ र ९ मा स्थायी रूपमा स्थानान्तरण गरिएको छ । उनीहरूमध्ये कसैले बसाइँसराइ प्रमाणपत्र लगेको र कसैले नलगेको काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश 

डङ्गोलले बताउनुभयो । 

पशुपति क्षेत्रमा स्थायी रूपमा जीवनयापन गरिरहनुभएका साधुसन्तको पनि मतदाता नामावलीमा नाम समावेश हुन नसकेको सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार विभिन्न आश्रममा ठूलो सङ्ख्यामा साधुसन्त आश्रित हुनुहुन्छ । सबै जना मतदान गर्न इच्छुक हुनुहुन्छ ।

काठमाडौँ महानगरपालिका ६ नं. वडाका अध्यक्ष दीपेन्द्र लामाका अनुसार बौद्व क्षेत्रका विभिन्न गुम्बामा रहेका भिक्षुमध्ये धेरैको मतदाता परिचयपत्र नभएको तर नेपाली नागरिकताको प्रमाणपत्र भने छ । नागरिकता हुनेको मात्र मतदाता नामावलीमा नाम रहेको छ ।

निर्वाचनमा एक मतले पनि मत परिणाममा विशेष महìव राख्ने भएकाले यसरी मतदाता नामावली सङ्कलन गर्न गराउन छुट्न छुटाउन नहुने काठमाडौँ महानगरपालिका वडा नं. ७ का सदस्य कृष्णमणि भट्टराई बताउनुहुन्छ ।