• ७ जेठ २०८१, सोमबार

विपन्नलाई खाद्यान्न र जेहेन्दारलाई छात्रवृत्ति

blog

कबिराज घिमिरे 

हिले, वैशाख २६ गते । विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । धनशोभा राईको दशौँ स्मृति दिवसका अवसर पारेर विपन्न परिवारका असहाय, एकल महिला, दलित, फरक क्षमता भएकालाई चामल, दाल, तेल, चीनी, चियापत्ति, मसला, नुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । 

राहत पाउनेमा धनकुटा नगरपालिका वडा नं. ३, ४, ५, ६,७ र ८का २१ जना छन् । यस्तै, धनकुटाको त्रिवेणी मावि, गोकुण्डेश्वर मावि र गोकुण्डेश्वर बालमन्दिर माविका ४ जना जेहेन्दार विद्यार्थीलाई जनही एक हजार ५ सय रुपैयाँका दरले धनशोभा राई स्मृति जेहेन्दार छात्रवृत्ति समेत वितरण गरिएको छ ।

२०७१ सालमा धनशोभा राईको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको ७ लाख ३० हजारको अक्षयकोषबाट हरेक वर्ष हुन आउने ब्याजबाट विपन्नलाई खाद्यान्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको संरक्षक विष्णुमाया कन्दङ्वाले बताउनु भयो । सो खाद्यान्न तथा छात्रवृत्ति वितरण हरेक वर्ष मातातिर्थ औँसीको गरिँदै आएको उहाँको भनाइ छ ।

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले सबैको मनमा यस्तो प्रकारको सेवा भाव भए देश विकासमा टेवा पुग्ने बताउनुभयो।