• ७ जेठ २०८१, सोमबार

बालगृहमा सिप सिक्दै विद्यार्थी

blog

घोराही उपमहानगरपालिका–७ पर्सास्थित शान्ति बालगृहमा गुन्दी बनाउँदै बालबालिकाहरुको समूह । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, वैशाख २६ गते । महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत रञ्जिता बुढाथोकी अहिले कुसबाट बन्ने गुन्द्री र पटकी तथा परालबाट बन्ने बिरा बनाउने सिप सिक्न थाल्नुभएको छ । 

घोराही उपमहानगरपालिका–७ पर्सास्थीत शान्ति बालगृहमा बसेर अध्ययन गर्दै आउनुभएकी रञ्जिताले आयआर्जन गर्ने उद्देश्यले सिप सिक्न थालेको बताउनुहुन्छ । आश्रममै सिप सिक्ने वातावरण बनेपछि अहिले साथीहरुसँग गुन्द्री, पटकी र बिरा बनाउन सक्ने भएको बताउनुहुन्छ । पढाईसँगै सिप सिकेपछि घरमा बस्नका लागि प्रयोग हुने परम्परागत सामग्रीका रुपमा रहेका बिरा, गुन्द्री, पटकीको संरक्षण पनि हुने र आफ्नाका लागि आम्दानी जुट्ने उहाँ बताउनुहुन्छ । 

आश्रममा गुन्द्री बनाउँदै गर्नुभएकी रञ्जिता भन्नुहुन्छ्, "ठुलो लगानी पनि नलाग्ने र दुई तीन जना साथीहरु मिले सजिलै बनाउन सकिने भएकाले आफूहरुले कुसबाट गुन्द्री, पटकीसँगै परालबाट बन्ने बिरा बनाउन सिकेका हौं, सिप सिकेपछि आफ्नो लागि खर्च जुटाउन सजिलो आशा छ ।" परम्परागत रुपमा रहेका घरायसी सामग्री बनाउन जान्दा संरक्षणसँगै स्थानीय स्राेत र साधनको उपयोग हुने उहाँ बताउनुहुन्छ । 

आश्रममै बस्ने शिशिर रावत घोराहीमा रहेको हिन्दु विद्यापीठ स्कुलमा कक्षा नौमा अध्ययनरत हुनुहुन्छ । कमजोर घरको अवस्थाका कारण आश्रममा बसेर अध्ययन गर्दै आउनुभएका शिशिर पहिलो पटक गुन्द्री, पटकी र बिरा बनाउन सिकेको बताउनुहुन्छ । दिउँसो स्कुलमा पढाइसँगै साँझको समयमा आश्रममा बस्दा बचेको समयमा साथीभाइहरुसँग मिलेर सिप सिक्न पाउँदा खुसी लागेको बताउनुभयो । आफूले बनाउन बनाउन सिकेपछि आफ्नाका लागि आश्रममा प्रयोग हुने सामग्री बनाउनेदेखि बिक्रीका लागि समेत आफूहरुले मिलेर बनाउने सोच बनाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, "सिप आफ्ना लागि हो, जहिले पनि काम लाग्ने गर्दछ । अहिले हामीले सिप सिकेर गुन्द्री, बिरा बनाउन सक्दा आश्रममा आफूहरु बस्नका लागि समेत काम लाग्ने भएको छ ।" त्यसका लागि कसैले गुन्दी, पटकी, बिरालगायतका सामग्री बनाएर बिक्री गर्ने तयारी रहेको बताउनुभयो । अहिले आश्रममा बस्ने रञ्जिता र शिशिर मात्र होइन करिब ३० जना किशोरकिशोरी तथा बालकहरुले पढाईसँगै कुस र परालबाट गुन्द्री, पटकी, बिरा लगातका घरामा बस्नका लागि प्रयोग हुने सामग्रीहरु बनाउन सक्ने भएको तालिम कोर्डिनेटर ममता केसी बताउनुहुन्छ । गाउँघरमा परम्परागत बस्ने सामग्रीका रुपमा रहेका गुन्द्री, पटकी र बिराको संरक्षणसँगै आश्रममा बस्ने बालबालिका लागि आयआर्जन गर्ने माध्यम बनाउनका लागि सिपमुलक तालिमको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार आयोन संस्थाको आर्थिक सहयोगमा आश्रममा बस्ने ४५ जनामध्ये ३० जनाले सिपमूलक तालिम लिएको उहाँले बताउनुभएको छ । 

गुन्द्री, पटकी तथा बिरा बनाउनका लागि कच्चा पदार्थ प्राप्त गर्न सहज भएको र बनाउन सके आम्दानी हुने भएकाले व्यवहारमा लागु गर्ने विश्वास रहेको तालिम संयोजक केसी बताउनुहुन्छ ।