• ६ जेठ २०८१, आइतबार

एग्रोभेटबाट ठगिए किसान

blog

पाल्पा जिल्लामा सञ्चालित एग्रोभेट पसल अनुगमन गरिँदै ।

तानसेन समाचारदाता

तानसेन, वैशाख २६ गते ।   स्थानीय एग्रोभेटहरूले गुणस्तरहीन बिउबिजन बिक्री गरेर किसानलाई ठगेको आरोप लागेको छ । एग्रोभेटहरूले म्याद गुज्रिएका बिउबिजन बिक्री गरेको भनाइ किसानको छ । कृषि ज्ञान केन्द्र पाल्पा र बिउबिजन प्रयोगशाला भैरहवाको संयुक्त अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । 

तानसेन, आर्यभन्ज्याङ र रामपुर बजारमा रहेका विभिन्न एग्रोभेट सेन्टरले बिउबिजन र औषधी बिक्रीमा किसानलाई ठगेको भेटिएको हो । सरकारले सूचीकृत गरेका बाहेकले पनि बिउबिजन बिक्री गर्दै आएका छन् । स्थानीय एग्रोभेटहरूले म्याद गुज्रिएका तरकारीजन्य बिउ बिक्री गरेको पाइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीले बताउनुभयो । 

पाकच्वाइ साग, भिन्डी, चिचिन्डो, खुर्सानी, फर्सी, सिमीलगायतका बिउ म्याद गुज्रिएको अवस्थामा फेला परेका प्रमुख चौधरीले बताउनुभयो । जिल्लामा रहेका आठ वटा एग्रोभेटमा अनुगमन गरिएको थियो । अधिकांशमा मापदण्डविपरीत किसानलाई बिउ बिक्री गर्दै आएको पाइएको ज्ञान केन्द्रले जनाएको छ । मापदण्डविपरीतका केही बिउबिजनलगायत सामग्री जफत गरिएको छ । सरकारले तोकेको मापदण्ड अनुरूप सामग्री बिक्री गर्न सचेत गराइएको बिउबिजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतमले बताउनुभयो । 

भौगोलिक रूपमा कम उचाइ अर्थात् तराई मधेशमा उत्पादन हुने धानको बिउसमेत पाल्पाका पहाडी भेगमा रहेका किसानलाई बिक्री गरेको पाइएको उहाँले  बताउनुभयो । सूचीकृत नभएका मकै र तरकारीका बिउसमेत एग्रोभेटले बिक्री गरेका छन् । सूचीकृत नभएको अनधिकृत बिउबाट फल लागेन भने किसानलाई वर्षभर घाटामा जाने निश्चित रहेको उहाँले बताउनुभयो । यस्तै बिउबिजन, विषादी र कृषिका सामग्री अव्यवस्थित ढङ्गले पसलमा राखेको पाइएको छ । 

यससम्बन्धी तालिम नलिएका व्यक्तिले समेत बिउबिजन, विषादी र पशुपन्छीका लागि औषधी बिक्री गरेको फेला परेको अनुगमनमा सहभागी कृषि प्राविधिकले बताएका छन् । सरकारको अनुमतिपत्र नलिई कारोबार गर्नेलाई ५० हजारदेखि एक लाखसम्म जरिबाना र तीन महिनासम्म कैद गर्ने कानुनमा व्यवस्था रहेको छ । 

त्यस्तै मापदण्डविपरीतका सामग्री बिक्री गरेको पाइएमा १० हजारदेखि ५० हजारसम्म जरिबाना गर्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले बताउनुभयो ।