• ७ जेठ २०८१, सोमबार

आमाछोदिङ्मोका कला प्रदर्शनी

blog

काठमाडौँ, वैशाख २६ गते । हिमाली जिल्ला रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले ‘आमाछोदिङ्मो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी सुरु गरेको छ । सांसद मोहन आचार्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित प्रदर्शनी मङ्गलबार शुभारम्भ गर्नुभएको हो । आमाछोदिङ्मो गाउँपालिकाले स्थानीय कला, संस्कृति, सम्पदाको प्रवर्धनका लागि चैत ९ देखि १३ गतेसम्म कला कार्यशाला आयोजना गरेको थियो । सोही क्रममा २५ कलाकारले एक्रेलिक रङको माध्यममा तयार पारेका ५० कलाकृति प्रदर्शनीमा राखिएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीका अनुसार कलाकारले स्थानीय सम्पदा, संस्कृति, जनजीवन र पुराना घरका वास्तुकलालाई क्यानभासमा उतारेका छन् । प्रदर्शनीमा राखिएका चित्रकला बिक्रीका लागि समेत राखिएका छन् । कला बिक्रीबाट प्राप्त रकम कलाकार र गाउँपालिकालाई बाँडिने जनाइएको छ । प्रदर्शनीमा कलाकारहरू प्रदीप अधिकारी, दिनेश्वर महतो, सञ्जय बान्तवा राई, जुपिटर प्रधान, आशुराम खाइजू, भीम श्रेष्ठ, डिबी गुरुङ, डिल्लीराज शर्मा घिमिरे, दीपेन्द्र बनेपाली, झवीन्द्र गुरुङ, जुनुमाया तामाङ, किशोर नकर्मी, मनरा प्रजापति, नरबहादुर बिके, नीलम भुर्तेल, प्रदीप वज्राचार्य, प्रमिला वज्राचार्य, पुण्य मताङ, राजन काफ्ले, सम्भव महर्जन, शङ्करसन श्रेष्ठ, सपना पौडेल महर्जन, शशी डङ्गोल र सुनिता राणाका कलाकृति राखिएका छन् । 

प्रदर्शनी उद्घाटनमा सांसद आचार्यले नेपाली सभ्यता, संस्कृति नै हाम्रो मुख्य शक्ति भएको चर्चा गर्दै कलाकृतिले स्थानीय सम्पदा, संस्कृतिको परिचय दिएको बताउनुभयो । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला कार्यशालामा अहोरात्र खटेर कला सिर्जना गर्ने कलाकारप्रति आभार व्यक्त गर्दै कला प्रदर्शनीले पर्यटन प्रवर्धन र विकासमा सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले रसुवा कला, संस्कृतिको धनी क्षेत्र भएको चर्चा गर्दै पर्यटन प्रवर्धनका हिसाबले कला कार्यशाला आयोजना गरिएको बताउनुभयो । बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेले पालिकाको कला, संस्कृति र रीतिरिवाजलाई चित्रमा उतार्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग तथा वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र आमाछोदिङ्मो गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको हो । प्रदर्शनी वैशाख ३१ सम्म सञ्चालन हुने जनाइएको छ ।