• ६ जेठ २०८१, आइतबार

बाँकेको पाँच हजार बढी हेक्टर क्षेत्रफलमा डढेलो

blog

बाँकेका सामुदायिक वनमा लागेको डढेलो । फाइल तस्बिर

सिराज खान

नेपालगन्ज, वैशाख २५ गते । बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। 

जिल्लाका विभिन्न सामुदायिक वन र चक्ला वन क्षेत्रमा केही महिनादेखी डढेलो लागिरहेको छ । बाँकेको नरैनापुर, राप्ती सोनारी, कोहलपुर लगायत क्षेत्रमा डढेलो लागेको छ ।

डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर सब डिभिजनका २२, सिक्टा सब डिभिजनमा पर्ने १८, नेपालगन्ज सब–डिभिजन कार्यालय अन्तरगतका १०, नरैनापुर सब डिभिजन अन्तरगतका ९, राप्ती सोनारी सब डिभिजनमा पर्ने ४ र  शमशेरगन्ज सब डिभिजन अन्तरगतको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत बीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आइसकेको जनाउँदै केही ठाउँमा मात्र बाँकी रहेको बताउनुभयो । 

डढेलो लागेको वनमा ७ सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको उहाँको भनाइ छ ।

अधिकृत रोकाका अनुसार  डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । 

लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेको लापरबाहीका कारण डढेलो लाग्ने गरेको जनाइएको छ ।