• १४ जेठ २०८१, सोमबार

डुम्रे गुफाचौर होलाङ्दी सडक स्तरोन्नति हुने

blog

बिन्दु थापा 

तानसेन, वैशाख २४ गते । तानसेनको डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नति हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैङ्कसँग सम्झौता गरी सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।

तानसेन नगरपालिकाको गौरव योजनाको रूपमा रहेको डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी जोड्ने मोटरबाटो स्तरोन्नतिको सम्झौता गरिएको हो ।

विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालन हुने सडक स्तरउन्नतीका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बिच सम्झौता गरिएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरूको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो ।

आयोजनाको कुल सम्झौता रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपियाँ ७७ पैसा रहेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यो बाटो तानसेन नगरपालिकाको गौरव योजनाको रहेको भन्दै सडकको योजना धेरै प्रयास पछि नगरपालिका ल्याउन सफल भएको बताउनुभयो । सडक निर्माण भएपछि तानसेन वडा न १० र ११ का नागरिकहरू लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठका अनुसार बाटो स्तरोन्नति भएपछि पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाई बनी रहेको पर्यटकीय स्थल गुफा चौरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार आयोजनाको सम्झौता बमोजिमको वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिलाई १३ महिना भित्र काम सक्ने गरी सम्झौता गरिएको र यस आयोजनाबाट करिब ६ दशमलव ८ किलोमिटर सडकको स्तरउन्नती हुनेछ ।