लिलाधर वली
घोराही, वैशाख २३ गते । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।
तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै इलेक्ट्रिक पसल अगाडी बस्नुभएका खाँलाई आइतबार करिब ११ बजेतिर ठक्कर दिँदा उहाँको मृत्यु भएको मल्लले जानकारी दिनुभएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते हुनु भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरीले ठक्कर दिने ट्रकसहित तुलसीपुर उपमहानगरपालिका–१३ निवासी चालक गङ्गाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।