• ५ जेठ २०८१, शनिबार

लुम्बिनीमा बुद्ध जयन्तीको तयारी

blog

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, वैशाख २३ गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइने बुद्धजयन्ती एवम् लुम्बिनी दिवसको तयारी सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ मनाउँदै आएको छ । 

आगामी जेठ १० गते परेको २५६८ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस भव्य रुपमा मनाउन बजेटको अभाव देखिएको छ । संघीय सरकारले वार्षिक रुपमा एकदेखि चार करोडसम्म बुद्धजयन्तीका लागि बजेट छुट्टयाउने गरेकोमा चालु आर्थिक वर्षमा भने बजेट छुट्टयाएको छैन । कोभिड महामारीपछि २०७९ सालमा २५६६ औं बुद्धजयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भव्यताका साथ मनाइएको थियो । त्यतिबेला सङ्घीय सरकारले तीन करोड बजेट छुट्टयाएको थियो । 

लुम्बिनी विकास कोषका योजना प्रमुख स्मिता भट्टले भगवान बुद्धको सबैभन्दा महत्वपूर्ण दिनका रुपमा बैशाख पूर्णिमालाई लिने गरिएको र विगतदेखि नै बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने गरिएकोमा यो वर्ष संघीय सरकारले बजेट कटौती गर्दा त्यसले बुद्धजयन्ती भव्य रुपमा मनाउन चुनौती देखिएको बताउनुभयो । उहाँले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भएपनि संघीय सरकारले बजेट नदिँदा भव्य बनाउन कठिन हुने बताउनुभयो । लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामसमेत पर्यटकहरुको दान एवम् प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट गर्दै आएको छ ।

लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्धजयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले संघीय सरकार अन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्धजयन्तीका बेलामा पर्याप्त बजेट छुट्टयाएर मनाउनुपर्ने बताउनुभयो । उहाँले बुद्धजयन्ती एक दिनका लागि मात्रै नभई कम्तीमा एक सातासम्म मनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वभरका बौद्ध धर्माम्बलम्बीलाई बुद्धजयन्तीमा लुम्बिनी आउने वातावरणका लागि सरकारले पर्याप्त बजेट छुट्टयाएर भव्य कार्यक्रम गर्नुपर्छ ।” 

जेठ १० गतेको बुद्धजयन्तीका लागि लुम्बिनी विकास कोषले बजेट अभावकै कारण मूल आयोजक समिति गठन गर्ने बाहेक अन्य तयारी गरेको छैन । कोषले २५६८ औं बुद्धजयन्तीका लागि ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।

नेपालमा तत्कालीन राजा त्रिभुवनले वि.सं.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा रहेका लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.सं. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले  लुम्बिनी दिवस पनि मानाउन थालेको हो । 

विभिन्न बौद्ध मुलुकको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय रुपमै बुद्धजयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयमा बुद्धजयन्ती मनाउन बिदा दिंदै आएको छ ।