• ६ जेठ २०८१, आइतबार

कृषि पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै बेथानचोक

blog

काठमाडौँ, वैशाख २३ गते । काभ्रेको बेथानचोक गाउँपालिकालाई कृषि पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न लागिएको छ । व्यावसायिक कृषिमा बढ्दो लगानीसँगै पालिकाले कृषि पर्यटनका सम्भावनालाई समेटेर मनोरञ्जन, धार्मिक, पदयात्रा, साहसिक यात्रासँगै रैथानी बाली र विषादीरहित तरकारी खेतीको प्रवर्धनसम्बन्धी काम अघि बढाएको छ । 

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीका अनुसार पालिकालाई अर्गानिक खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न पाँचदिने प्राङ्गारिक मल बनाउने तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेथानचोक गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि विभिन्न पर्यटकीय पूर्वाधारको निर्माणसँगै यस क्षेत्रलाई कृषि र पर्यटनसमेत उत्कृष्ट गन्तव्य बनाउने अभियान जारी छ । यस पालिकाको भ्रमण गर्न आगुन्तकलाई स्वस्थ र विषादीरहित खाना खुवाउन र रैथाने बालीको संरक्षणका लागि हाल ४० जना कृषकलाई प्राङ्गारिक मल बनाउने तालिम दिइरहेका छौँ ।”

काठमाडौँ उपत्यकाबाट नजिकको दुरीमा रहेको प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको आकर्षण बढाउन तारागाउँ विकास समितिसँगको सहकार्यमा घरबास कार्यक्रमलाई समेत विस्तार गरिरहेको उहाँले बताउनुभयो । 

आगुन्तकको सत्कारमा स्थानीय परिकारको प्रवर्धनसँगै लोप हुन लागेका रैथानेबालीको संरक्षणमा समेत सहयोग पुग्ने गरी पालिकाले काम अघि बढाएको उहाँको भनाइ छ । पर्यटकको सहज आवागमनलाई ध्यानमा राखेर पालिकाको आन्तरिक बजेटबाट हरेक वर्ष प्रमुख पर्यटकीय गन्तव्यतर्फको पाँच किलोमिटर सडक कालोपत्रे गर्दै आएको जानकारी दिँदै पर्यटकीय पूर्वाधारको विकासमा समेत काम भइरहेको बताउनुभयो । त्यसै गरी एक वडा एक खेल मैदानको अवधारणा अनुसार व्यायामशाला निर्माण, धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको सरसफाइ, पर्यावरणीय सम्पदाको अध्ययन, अनुसन्धानलगायतका काम भइरहेको उहाँको भनाइ छ ।

पालिकाभित्र रहेका चक्रेश्वर महादेव, क्षेत्रपाल महाँकाल, बाघभैरव, मुक्तेश्वर महादेव, पार्वतेश्वर, देवीस्थान, कपेर महाँकाल, कालीदेवी मन्दिर, बेथानचोक नारायणस्थान तथा बागनेमा गुफालगायतका धार्मिक स्थलहरूको सञ्चार माध्यम, समाजिक सञ्जाल र अभियन्तामार्फत प्रचारप्रसारको काम भइरहेको उहाँले बताउनुभयो । त्यसै गरी आन्तरिक तथा बाह्य पयर्टनका लागि गुम्बुडाँडामा रहेको भ्युटावर, रतन, छ्याङछ्याङ, तीनतले (तीनधारे) जस्ता मनमोहक झरना बेथानचोकको वास्तविक पुँजी रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले छ वटा वडा रहेको यस पालिकाले पर्यटन प्रवर्धनका लागि एक वडा एक पर्यटकीय स्थल तोकेको जानकारी दिनुभयो । पछिल्लो समय पालिकाले यहाँ उत्पादन हुने मह, तरकारी, जडीबुटी र दुधलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्दै पर्यटकलाई यहाँको प्रमुख उत्पादन खुवाको स्वाद चखाउने, घट्टमा पिँधेको मकैको ढिँडो र रायोको सागले पर्यटकलाई लोभ्याउने काम जारी राखेको उहाँले बताउनुभयो ।

ब्राह्मण, तामाङ नेवारको बहुल रहेको बेथानचोकमा स्थानीय कला, संस्कृति, हस्तकला, लोकगीत, सङ्गीतको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने कामसमेत अघि बढेको उहाँको भनाइ छ । पालिकाले यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, संवर्धन गर्दै दीर्घकालीन पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पहल जारी राखेको उहाँले बताउनुभयो ।