कबिराज घिमिरे
हिले, वैशाख २२ गते। धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ स्थित मुजवा गाउँका भद्रबहादुर विष्ट अहिले रायो खेतीमा व्यस्त हुनुहुन्छ। केही महिना पहिले बारीमा लगाएको रायो अहिले आम्दानी लिने चरणमा छ। उहाँ अहिले दैनिक जसो रायो टिप्न, पानी लगाउन तथा बिक्री वितरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ।
करिब तीन रोपनी क्षेत्रफलमा रायो खेती गर्नुभएको छ। तीन रोपनीबाट एक सिजनमा अढाई लाखसम्म आम्दानी गर्नुहुन्छ। “माग बढ्दै जाँदा हामीले पनि राम्रो मूल्य पाउँछौँ। करिब तीन रोपनीबाट मूल्य हेरेर एक सिजनमा अढाई तीन लाखसम्म आम्दानी हुन्छ”, विष्ट भन्नुहुन्छ।
विष्टकोमा मात्र नभई अहिले मजुवा क्षेत्र रायो सागमय छ। यहाँ करिब तीन सय परिवारको बसोबास छ। तीन सय परिवारमध्ये करिब ९० प्रतिशतले रायो सागको खेती गर्ने गरेका छन्। जसका कारण गाउँभरीनै पुरै हरियाली देखिन्छ।
बजारको समस्या नहुने भएपछि करिब तीन दशक यता यो क्षेत्रका बासिन्दा साग खेतीमा आकर्षित भएका छन्। सामान्य पानी सिँचाइ उपलब्ध भएका क्षेत्रका कृषक साग खेतीमा आकर्षित भएका छन्। राम्रो आम्दानी, मिहिनेत कम र बजारको समस्या भएकाले र सागको राम्रो उत्पादन भएकाले साग खेतीलाई निरन्तरता दिँदै आएको स्थानीय खिमा देवी विष्ट बताउनु हुन्छ।
आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङ्क अनुसार जिल्लामा ३२६ हेक्टर क्षेत्रफलबाट ३८६३ मेट्रिकटन रायो साग उत्पादन हुँदै आएको छ। उत्पादनको आधारमा कोशीमा सबै भन्दा बढी रायो उत्पादन धनकुटामा हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको दाबी छ।
धनकुटामा छथरजोरपाटी गाउँपालिकामा सबै भन्दा बढी रायो खेती हुने गरेको छ। त्यसपछि धनकुटा नगरपालिका, पाख्रिवास, महालक्ष्मी र साँगुरीगढी गाउँपालिकामा रायो खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगर बताउनु हुन्छ।
धनकुटामा स्थानीय मार्फा जातको रायो सायको खेती हुने गरेको छ। यहाँ उत्पादन भएको साय झापा, मोरङ, सुनसरी लगायतका जिल्ला पुग्ने गरेको छ। एक पटक लगाएको सागबाट एक सिजनमा पाँच छिमलसम्म आम्दानी लिन सकिन्छ। अलिअलि गुन्द्रुक बनाउने बाहेक अधिकांश रायो साग तरकोरीको रूपमै प्रयोग गर्ने गरिएको छ।