• ५ जेठ २०८१, शनिबार

वर्तमान सत्ता समीकरणमा समस्या छैन : सचिव भट्टराई

blog

पत्रकार भेटघाटमा आफ्नो धारणा राख्नुहुँदै नेता योगेशकुमार भट्टराई ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २२ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताउनुभएको छ।एमालेकै सोचमा नयाँ सत्ता समीकरण बनेकाले कुनै समस्या नरहेको नेता भट्टराईले बताउनुभयो ।

गृह जिल्ला ताप्लेजुङमा शनिबार पत्रकारसँगको भेटमा नेता भट्टराईले समीकरणमा रहेका केही दलका नेताले असन्तुष्टि व्यक्त गरे पनि अहिलेको सत्ता समीकरण अदलबदलको दिशामा नरहेको बताउनुभयो।उहाँले २०८४ सालको निर्वाचनसम्म अहिलेकै सरकार र समीकरण कायम रहनेमा एमाले दृढ रहेको पनि उल्लेख गर्नुभयो ।

छोटो छोटो समयमा सत्ता परिवर्तन भइरहँदा अस्थिरता झनै बढेको र अस्थिरताले देशको विकास हुन नसकेको साथै अर्थतन्त्र डामाडोल बनेको उहाँको भनाइ छ।एमाले देशको विकास र अर्थतन्त्र सुधार गर्न चाहने दल भएकाले यही सरकार र समीकरणलाई एमालेले निरन्तरता दिन चाहिराखेको उहाँले बताउनुभयो।

आगामी बजेटमार्फत जनपक्षीय नीति र कार्यक्रम ल्याउने गरी गृहकार्यमा सरकार रहेको पनि उहाँले बताउनुभयो।बिग्रँदै गएको अर्थतन्त्रको सुधार गर्न, विकास निर्माणलाई तीव्र गति दिन, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार र सन्तुलित बनाउन, संविधानको कार्यान्वयन र स्थिर राजनीतिक वातावरणका लागि अहिलेको सरकार र सत्ता साझेदार दलले सक्रियता देखाउन सुरु गरेको पनि उहाँले दाबी गर्नुभयो।

पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले संसद्को बजेट अधिवेशनको समय आएकाले यसपटकको अधिवेशन निर्बाध ढङ्गले अघि बढ्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो।उहाँले आउँदो संसद् अधिवेशन सहज र निर्बाध रूपमा अघि बढाउनलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दलहरू सहमतिमा आउनुको विकल्प नभएकोसमेत उहाँको भनाइ छ।

यता सहकारी तथा विभिन्न वित्तीय सङ्घ/संस्थासँग सम्बन्धित विषयमाथि उठेका सवालमा अदालतसहितका राज्यका निकायले सूक्ष्म छानबिन गर्नुपर्ने उहाँले बताउनुभयो।अदालतमा पुगेको विषयलाई संसद्ले हस्तक्षेप गर्न नहुने उहाँले बताउनुभयो।राज्यका निकायबाट सम्भव नभएमा छानबिनको अन्तिम अस्त्रका रूपमा संसदीय छानबिन समिति बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो ।

यसैगरी पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार परियोजनामा विमति राख्ने पक्षका अधिकांश सवालको सम्बोधन भइसकेकाले अब निर्माण कार्यमा अवरोध गर्नु नहुने उहाँको तर्क छ।अझै केही विमति भएमा छलफल र संवादको माध्यमबाट सार्थक समाधान खोजेर केबलकार निर्माणको काम थाल्नुपर्ने उहाँले बताउनुभयो।उहाँले केबलकार परियोजनाको विरोध गर्दै आएको पक्षलाई सार्थक छलफल र संवादका लागि आह्वानसमेत गर्नुभयो।