• ५ जेठ २०८१, शनिबार

पाउरोटी उद्योगलाई २० हजार जरिवाना

blog

संयुक्त बजार अनुगमन टोलीले पसल अनुगमन गर्दै । तस्बिर सौजन्य : सिडिओ कार्यालय बाँके

गजेन्द्र गुरुङ
खजुरा, वैशाख २२ गते । 
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानहरूमा बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले पछिल्लो समयमा सहरीमात्र नभएर जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरूलाई पनि निरन्तर अनुगमन गर्दै आएको छ ।

शुक्रबार बाँके प्रशासनको नेतृत्वमा सम्बन्धित सरोकारवाला निकायहरूको सहभागितामा रहेको अनुगमन टोलीले जिल्लाको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रका बजार अनुगमन गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँका ग्रामीण क्षेत्रमा रहेका १७ र नरैनापुर गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँका ग्रामीण क्षेत्रमा रहेका नौ गरी २६ वटा पसल तथा व्यवसायमा अनुगमन गरिएको र अनुगमन गरिएकामध्ये चारवटा पसल व्यवसायमा कैफियत पाइकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार राप्तीसोनारी २ स्थित प्रशंसा पाउरोटी उद्योगले उद्योग सञ्चालन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायबाट अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेको पाइएकाले कारबाहीस्वरुप २० हजार रुपियाँ जरिवाना गरिएको छ । सोही उद्योगबाट खान नहुने अवस्थामा रहेको १२ प्याकेट दाम्ले मिठाई पनि जफत गरी नष्ट गरिएको छ । उद्योगलाई अनुज्ञापत्र लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको पोखरलले बताउनुभयो ।

राप्तीसोनारी २ मै रहेको सिटी बेकरी उद्योगमा रहेको खान अयोग्य रङ्ग मिसिएको फ्लेवर चिनीपानी १५० वटा जफत गरी नष्ट गरिएको छ । त्यसैगरी राप्तीसोनारी १ मा रहेको हिमशिखर तन्दुरी होटलले बिल बिजक बिना कारोबार गरेको पाइएकाले तत्काल कारबाहीस्वरुप पाँच हजार रुपियाँ जरिवाना गरिएको छ । घरघरमा पुगेर व्यापार गर्ने एक जना घुमन्ते व्यापारीले खान अयोग्य रङ्ग मिसिएको फ्लेवर चिनीपानी बिक्री गर्दै गरेको पाइएकाले उनीसँग रहेको पाँच हजार सात सय रुपियाँ बराबरको ११ सय ४० वटा चिनीपानी नष्ट गरिएको छ ।

अनुगमन गरिएका अन्य २२ वटा पसल तथा व्यवसाय भने सामान्य अवस्थामा पाइएको प्रजिअ पोखरेलले बताउनुभयो ।