• ५ जेठ २०८१, शनिबार

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

blog

खजुरा (बाँके), वैशाख २२ गते । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज-२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो ।

स्वयंसेवकहरूले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकले घर-घरमा पुगेर सचेतना फैलाउने काम गरिरहेका छन् ।

“उनीहरूले रेडक्रसबाट प्रदान गरिएको जनचेतनामूलक पर्चापम्प्लेट लिई घरधुरी सर्वेक्षण फारम समेत भरिरहेका छन् । घरदैलोका क्रममा उनीहरूले अत्यधिक गर्मी र लुबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य स्याहार कसरी गर्ने, जोखिमका बेला कहाँ सम्पर्क गर्नेलगायत विषयमा जानकारी दिइरहेको छन्”, सभापति सम्झनाले भन्नुभयो । टिनको छाना भएका घर, दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामी, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएकालगायतलाई अत्यधिक गर्मी र लुबाट बच्ने उपाय सिकाउन थालिएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार केही दिनअघि स्वयंसेवकलाई प्रशिक्षण दिएर घरदैलोमा खटाइएको छ । केही दिनदेखि यहाँ बढेको अत्यधिक गर्मी र तातो हावाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा मानिसको चहलपहल घटेको छ । गर्मीले यहाँका अस्पतालमा मौसमी बिरामीको सङ्ख्यासमेत बढेको भेरी अस्पतालले जनाएको छ । रासस