• ५ जेठ २०८१, शनिबार

कृषिमा ‘अटोफर्टिगेशन’ प्रविधिको प्रयोग

blog

काभ्रेपलान्चोकको पनौती नगरपालिका–१० स्थित जय जवान जय कृषि फर्ममा जडान गरिएको स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ प्रविधि । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
बनेपा, वैशाख २२ गते ।
 कृषिमा प्रयोग भएका प्रविधिको प्रदर्शनमार्फत किसानलाई प्रविधितर्फ आकर्षित गरी कृषि तथा सिँचाइमा लाग्ने लागत न्यूनीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कृषिमा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ (अटोफर्टिगेशन) कार्यक्रम अघि बढाइएको छ । कृषि विकास कार्यालय काभ्रेपलान्चोकले पाइलट प्रोजेक्ट (नमुना कार्यक्रम) को रूपमा जिल्लाको पनौती नगरपालिका–१० मा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयले चालु आर्थिक वर्षको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत पनौती नगरपालिका–१० स्थित जय जवान जय कृषि फर्ममा यो प्रविधि प्रयोग गरेको हो । कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले प्रविधिको प्रदर्शनमार्फत किसानलाई प्रविधिमा आकर्षित गर्न कार्यालयले यस्तो कार्यक्रम अघि सारेको बताउनुभयो । “चालु आर्थिक वर्षका लागि कार्यालयले दुई वटा कार्यक्रमको परिकल्पना गरेकोमा एउटा प्रयोगमा ल्याएका छौँ, यसको प्रभावकारिताको अवस्था विश्लेषणपछि यो प्रविधि पाँचखालमा पनि प्रयोगमा गर्ने सोच बनाएका छौँ ।,” दवाडीले भन्नुभयो ।

उहाँले जय जवान जय कृषि फर्ममा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ कार्यक्रमअन्तर्गत जडान गरिएको प्रविधिले माटोको तापक्रम, माटोमा उपलब्ध चिस्यानको अवस्था, माटोमा भएको खाद्यत्वको उपलब्धता देखाउने बताउनुभयो । “यो प्रविधिले माटोमा चिस्यानको कम भएपछि स्वचालित रूपमा बालीलाई आवश्यक पर्ने पानी पठाउने काम गर्दछ तथा बिरुवालाई चाहिने खाद्यत्वको समेत अवस्था समेत देखाउने हुँदा किसानलाई बालीको माग अनुसार खाद्यत्व व्यवस्थापन गर्न सहज हुन्छ” कार्यालयका प्रमुख दवाडीले थप्नुभयो ।

उहाँले पनौतीमा जडान गरिएको उक्त प्रविधिमा यस वर्ष स्वचालित सिँचाइका लागि मात्रै परीक्षण गरिएकोले अर्को बालीमा स्वचालित मलखादको समेत प्रयोग गरिने बताउनुभयो । उहाँले देशका अन्य जिल्लाका व्यावसायिक किसानले यो प्रविधि प्रयोग गरेपनि काभ्रेपलाञ्चोकमा भने पहिलो पटक नमुना परीक्षणका लागि अटोफर्टिगेशन प्रविधि प्रयोग गरिएको बताउनुभयो । कृषि विकास कार्यालयको ९५ हजार रुपियाँ अनुदान र कृषि फर्मको एक लाख गरी कूल एक लाख ९५ हजारको लागत साझेदारीमा उक्त प्रविधि जडान गरिएको कार्यालयले जनाएको छ । कृषि फर्मका सञ्चालक देवकृष्ण मानन्धरले कृषि कार्यालयले उक्त प्रविधिको बारेमा जानकारी गराएपछि आफू उक्त प्रविधि प्रयोग गर्न उत्सुक भएर काक्रो बालीमा परीक्षण गरिएको बताउनुभयो । “यो प्रविधि जडान गरेपछि घरबाट नै आफ्नो बालीको चिस्यान, खाद्यत्वको अवस्था र माटोको तापक्रम हेर्न मिल्ने रहेछ ।,” कृषक मानन्धरले भन्नुभयो ।

उहाँले यो प्रविधि जडान गरेपछि बालीलाई आवश्यक पर्ने चिस्यानका लागि अटोमेटिक रूपमा पानी पठाउने काम गर्ने गरेको बताउनुभयो । यो प्रविधिको प्रयोगले बालीमा प्रयोग हुने अनावश्यक सिँचाइ, मलखाद जोगाउनुको साथै कृषिमा हुने लागत र समयको बचत गरी उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने कार्यालयका कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताउनुभयो । उहाँले पनौतीमा जडान गरिएको प्रविधिको प्रभावकारिता र उपयोगिताको आधारमा जिल्लाका थप व्यावसायिक किसानहरुकोमा उक्त प्रविधि जडान गरिने बताउनुभयो ।