• २५ पुस २०८१, बिहिबार

गहुँको मूल्य पाउँदा किसान खुसी

blog

टीकापुरस्थित सुरेश टे«डर्समा गहुँ बिक्री गर्दै किसानहरु । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना
टीकापुर, वैशाख २२ गते । 
यस वर्ष गहुँको मूल्य अत्यधिक बढेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा १५ प्रतिशत बढेर चार हजार २०० रुपियाँमा खरिद भइरहेको छ भने बिक्री मूल्य चार हजार तीन सय पुगेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस १२ गते बसेको बैठकले आ.व. २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ६५० तोकेको थियो । अघिल्लो वर्ष गहुँको मूल्य तीन हजार ३५१ तोकेको थियो ।

बीउ मल र श्रमिकको मूल्य अनुसार उत्पादनको मूल्य नपाएर हैरान किसान गहुँको मूल्य पाएपछि भने खुसी भएका छन् । जोशीपुर गाउँपालिका–४ झवहीका किसान राजेश चौधरी यसरी नै धानको मूल्य पाउने हो भने कृषिमा युवाहरूको आकर्षक बढ्ने र किसानहरूले दुखी हुनु नपर्ने बताउनुहुन्छ । चौधरीले दश बिघा खेतमा ३०० क्विन्टलभन्दा बढी गहुँ फलाउनु भएको छ । यस्तै जानकी गाउँपालिका–४ मुनुवा किसान भागीराम चौधरी सबै उत्पादनको उचित मूल्य पाए किसानले पनि छोराछोरी पढाउन सक्ने, उपचार गर्न सक्ने आशा जागेको बताउनुहुन्छ । भागीरामले आफ्नो गहुँ घरघरै पुर्‍याएर प्रति क्विन्टल चार हजार ३०० मा बेच्नु भएको छ ।

गहुँ उत्पादक किसानले राम्रो मूल्य पाएका छन् । ‘वैशाख ८ गते नेपालगन्जका मैदा उद्योगहरूले गहुँको प्रति क्विन्टल चार हजार ३०१ मूल्य राखेपछि यहाँका व्यापारी पनि प्रतिस्पर्धामा उत्रिएर चार हजार दुई सय रुपियाँ सम्ममा किने,’’ सुरेश ट्रेडर्स टीकापुरका सञ्चालक सुरेश पुरबार भन्नुहुन्छ, ‘‘गाउँगाउँमा पक्की सडक पुगेकाले ग्रामीण क्षेत्रबाट मिलले त्यही भाउमा गहुँ उठाएका छन् ।’’ पोहोर साल खरिद दर तीन हजार आठ सय रुपियाँमा खरिद भएकोमा यसवर्ष चार हजारबाट सुरु भएको छ ।

‘‘रोग किरा नलागेको, पानी परेको मलको अभाव नभएकाले गहुँ उत्पादन बढेको छ’’ कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ, ‘‘खान र बीउ राखेर पाँच लाख क्विन्टलभन्दा बढी गहुँ बजारमा आउँछ ।’’

कैलालीमा ३४ हजार ५०० हेक्टरमा गहुँ खेती भएको र प्रति हेक्टर तीन टनका दरले उत्पादन १० लाख ३५ हजार क्विन्टल फल्ने त्यसबाट बीउ र खाना छुट्टाएर पाँच लाख क्विन्टल गहुँ बजारमा आउने तथ्याङ्क छ ।

अघिल्ला वर्षहरूमा भारतले गहुँ आयात गर्ने र त्यो नेपाल पनि भित्रिने गरेकोमा रुस–युक्रेन युद्धपछि गहुँ आयात रोकिएको छ नेपालमा उत्पादित गहुँले मूल्य पाएको जानकारहरू बत्ताउँछन् ।