• १३ साउन २०८१, आइतबार

उद्यमी बन्न उपयोगी बन्दै सामाजिक सञ्जाल

blog

काठमाडौँ, वैशाख २१ गते । भैरवा स्थायी घर भई हाल काठमाडौँ बसिरहनुभएकी सावित्रा रिमालले थरिथरीका अचार बनाउने गर्नहुन्छ । पाँच वर्षअघि अचार बनाउन सुरु गर्दा उहाँको अचार परिवारमा मात्रै सीमित थियो । परिवारबाट अचार स्वादिष्ट रहेको प्रतिक्रिया पाएपछि उहाँले छिमेकी हुँदै व्यवसायमार्फत अचारको पहुँच विस्तार गर्ने सोच बनाउनुभयो । 

उहाँको सोचमा छोरी ममताले पनि सघाउन थालेपछि पछिल्लो समय भने घरमै उत्पादन गरेर अचारको बजार विस्तारमा तल्लिन हुनुहुन्छ । सुरुमा ४८ वर्षिया सावित्राका ग्राहक छिमेकी र चिनेजानेका व्यक्तिहरु हुन्थे । अहिले भने आफ्ना ग्राहक चिनजान र छिमेकमा मात्रै सीमित नरहेका उहाँले बताउनुभयो । सूचना र प्रविधिको प्रयोगले अहिले आफ्नो उत्पादनका ग्राहक विश्वव्यापीरुपमा रहेको र यस कार्यमा इन्टरनेट प्रविधिमा आधारित सामाजिक सञ्जाल सहयोगी भएको सावित्राको कथन छ ।

“अचार बनाउन त सिके तर अचार बनाएर मात्रै व्यापार वृृद्धि हुनेवाला थिएन । त्यसैले बजारविस्तार कसरी गर्ने भनेर चिन्तामा थिए । इन्टरनेट चलाउन सिकेपछि भने मेरो चिन्ता दूरभएको छ । सामाजिक सञ्जालमार्फत उत्पादनको प्रचार गरेर अहिले बजार विस्तार गसिररहेकी छु”, उहाँले भन्नुभयो । सामान्य साक्षर सावित्रालाई सुरुमा इन्टरनेट अर्थात सामाजिक सञ्जालबाट पनि व्यापार गर्नसकिन्छ भनेर सुन्दा अचम्म लाग्थ्यो तर पछि छोरीको साहारले फेसबुक र इन्स्ट्राग्राम चलाउन जानेपछि त्यसै प्रयोग गरेर अहिले व्यापार फस्टाएको उहाँ बताउनुहुन्छ । 

“प्रविधिलाई सदुपयोग गर्न जान्यो भने त गजबै रहेछ नि । अहिले घरमै उत्पादन गरेको अचारबारे इन्स्ट्राग्रामको सूचना हेरेर ग्राहकहरू पसल खोज्दै आउनुहुन्छ । त्यसैबाट महिनामा लाखौँको कारोबार गरिरहेकी छु”, उहाँले आफ्नो अनुभव सुनाउनुभयो । त्यस्तै, कल्पना लिम्बु पनि तेह्रथुमको ढाका पहिरनबाटै नाम र दाम कमाउन सफल हुनुभएको छ । जोरपाटीमा पसल खोल्नुभएकी उहाँले मिस नेपालसम्मको पहिरन डिजाइन गर्ने अवसर पाइसक्नुभएको छ । उहाँ पनि इन्टरनेटकै सहाराले अहिले फेशन डिजाइनको दुनियामा चर्चामा हुनुहुन्छ ।

“यदि इन्टरनेट हुँदैन थियो भने मेरो बजार जोरपाटीमा मात्रै सीमित हुन्थ्यो होला ! अहिले नेपालका विभिन्न सहर हुँदै बेलायत, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुरलगायत अन्तर्राष्ट्रिय बजारमा तेह्रथुमे ढाकाका पहिरन व्यापार भइरहेको छ”, कल्पनाले इन्टरनेटपछिको सफलता सुनाउनुभयो । चित्रकार नरबहादुर विक पनि इन्टरनेटकै कारण आफ्नो चित्रकला विश्वबजारमा पुर्याउन सकेको बताउनुहुन्छ । बुद्ध र हिमालका चित्र कोर्न रुचाउने नरबहादुर ति चित्रलाई आवश्यक जानकारीसहित वेभसाइडमा राख्नुहुन्छ । त्यो हेरेर विश्वभरीका धेरै ठाउँबाट अनलाइनमार्फत किन्ने अडर आउने गरेको उहाँको भनाइ छ ।  

कोभिड महामारीले निम्त्याएको संकटका बेला पनि इन्टरनेटकै माध्यमबाट आफ्नो बजार जोगिएको उहाँले बताउनुभयो । “इन्टरनेट त बरदान नै हरेछ नि इन्टरनेटमै ग्राहक आउनुहुन्छ”, उहाँ भन्नुहुन्छ,“त्यसबाट ग्राहकको समय बचत, मेरो आम्दानीवृद्धि ।” सूचना प्रविधिको अभूतपूर्व विकासपछि जान्नेहरुका लागि यो प्रविधि निकै उपयोगी भएको छ । व्यापार गर्नेहरुले यसैको सहाराले आफ्ना उत्पादनको बजारविस्तार गरी घरबाटसमेत राम्रो आम्दानी गरिरहेका छन् । 

नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा ९१ प्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्ने गरेका छन् । सूचना प्रविधि नीति २०६७ ले पनि नेपालमा सूचना प्रविधिको भरपुर प्रयोग गरेर सामाजिक तथा आर्थिक विकासका लक्ष्य हासिल गर्दै गरिबी न्यूनीकरण गर्ने को लक्ष्य राखेको छ ।  वि.सं.२०२८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क प्रशोधनको क्रममा नेपालमा कम्प्युटर प्रविधिको प्रयोग भएको इतिहास छ ।

त्यसपछि राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना गरी त्यसमार्फत कम्प्युटर प्रविधिसम्बन्धी तालिमलगायतका कार्यक्रम सरकारले सुरु गरेको थियो । मार्टिन चौतारीको एक अध्ययनमा सूचना प्रविधिको प्रयोगले गाउँमै सकारात्मक प्रभाव परेको उल्लेख छ । सफल घिमिरेले गरेको ‘ग्रामीण जीविकामा सुचना–प्रविधिको प्रभाव : नाङ्गी गाँउको अध्ययन’ विषयक अध्ययनमा उपचार नपाएर घरमै मृत्युवरण गर्नुपर्ने म्याग्दीको नाङ्गी गाउँमा इन्टरनेटको प्रयोगले घरमै चिकित्सक आउँने व्यवस्था सुरूभएको उल्लेख छ । 

सो अनुसन्धानले समाजको पुँजी वृद्धिमा सूचना प्रविधिको भूमिका महत्वपुर्ण हुँदै गएको देखाउँछ । उद्यमी सुनैना पाण्डेका अनुसार पछिल्लो समय इन्टरनेट तथा सूचना प्रविधि व्यवसायवृद्धिसँगै व्यक्तिगत काममा समेत अनिवार्य बन्दै गएको छ । सरकारले सूचना प्रविधिको प्रयोगबाटै देशको आर्थिक विकास गर्ने सोच राखेको तर सोअनुसार सूचनाको पहुँच विस्तारमा लचिलो हुन नसक्दा व्यापारीले समस्या झेल्नु परेको पाण्डेको भनाइ छ । “सरकारले इन्टरनेट ट्याक्स लगाएको छ । त्यो हटाएर साइबर तथा डिजिटल सुरक्षामा जोड दिए यस क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ ।” 

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) का महासचिव चिरञ्जीवी अधिकारीले सरकारले सूचना प्रविधि विकासको नीति ल्याएपनि व्यवहारमा भने कार्यान्वयन गर्न समस्या देखिएको बताउनुभयो । अधिकांश युवालाई व्यस्त बनाउन पनि सूचना प्रविधिको नीति कार्यान्वयन हुन जरुरी रहेको उहाँको भनाइ छ । “हामी कहाँ इन्टरनेटमैत्री नीति छैन । अब भने सूचना प्रविधिलाई उद्योगको रुपमा संस्थागत विकास गर्ने गरी आवश्यक नीति र प्रविधिमैत्री वातावरण आवश्यक छ”, अधिकारीले भन्नुभयो । रासस