• ५ माघ २०८१, शनिबार

बाराउद्योरण गाउँका आगलागी पीडित समस्यामा

blog

आगलागी भएको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँ । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख २१ गते । आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।  

प्रहरीले सङ्कलन गरेको अन्तिम विवरणअनुसार बिहीबार दिउँसो भएको आगलागीबाट ५७ घर पूर्णरुपमा र चार घर आंशिक रुपमा जलेका छन् । आगलागीपछि पीडितहरु चर्को गर्मी र तातो हावामा त्रिपालमुनी बस्न बाध्य छन् । 

बस्तीका ७० वर्षीय वृद्ध किशोरी राउतले गाउँमा भएको ठूलो बज्रपातपछि सबैको बिजोग भएको दुःखेसो पोख्नुभयो । “जीवनमा यस्तो ठूलो विनाश र क्षति कहिल्यै देखेको थिइनँ, अहिले आफैले बेहोर्नुपरेको छ” राउतले भन्नुभयो, “त्रिपालमुनिको बास भएको छ, च्यूरा र दालमोठको भरमा बाँचिरहेका छौँ ।” 

बाराउद्योरण गाउँमा अधिकांश युवा मजदुरका लागि भारत पुगेका छन् । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र रहेकाले पनि आगलागी बेलैमा नियन्त्रण गर्न नसकिएको राउतको भनाइ छ । 

दिनरात मजदुरी गर्दागर्दै पनि खानलाउन नै धौ–धौ पर्ने अवस्था रहेकोमा आगलागीपछि घरवास सबै सखाप भएपछि विपन्न परिवारमा रुवाबासी रोकिएको छैन् । त्रिपालमुनी बसेका स्थानीय हावाहुरीको याम रहेकाले थप त्रासमा छन् । 

लामखुट्टेले सताउन थालेको छ भने सर्प, किराको डर उत्तिकै छ । सिलाइकटाइको काम गर्ने स्थानीय विकी राउतले आगलागीबाट घर र व्यवसाय दुवै जल्दा केही सोच्न नसकेको बताउनुभयो । 

“गुजरातबाट कमाएर ल्याएको पैसाले गाउँमै सिलाइकटाइ व्यवसाय सञ्चालन गरेको थिए, आगोले चारवटा मेसिनसहित सबै सरसामग्री जलेर खरानी भयो” उहाँले भन्नुभयो । स्थानीय शत्रुधन राउतले आफ्नो घरबाट सल्किएको आगोले पूरा बस्ती खरानी पारेको बताउनुभयो । 

उहाँले आगलागीपछि बुहारीसहित तीन सन्तान हतार–हतार बाहिर निस्किएर ज्यान जोगाउन सफल भएको बताउनुभयो । विष्णु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले पीडितलाई तत्कालका लागि खाना र औषधीको व्यवस्था मिलाइएको दावी गर्नुभयो ।  

“गाउँपालिका अध्यक्ष बाहिर हुनुहुन्छ, उहाँ आउनेबित्तिकै कार्यपालिकाको बैठक बसेर पीडितका लागि थप निर्णय लिन्छौँ” प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भन्नुभयो । उहाँका अनुसार रेडक्रसबाट प्राप्त राहत सामग्री पूरा विवरण सङ्कलन भएपछि वितरण गर्ने तयारी छ ।