• २५ पुस २०८१, बिहिबार

व्यावसायिक पशुपालनबाट कृषक लाभान्वित

blog

पशुपालनमा व्यवसायमा लाग्नुभएका कावासोतीका एक किसान । तस्विरः मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख २१ गते । राम्रो कमाउन बिदेशिएका युवाहरु अहिले स्वदेश फर्केर कृषि पेशामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु जोश र जाँगर बोकेर व्यावसायिक गाईपालन, भैसीपालन, कुखुरापालनमा रमाउन थालेका हुन् । 

स्वदेशमा नै बिदेशजस्तै परिश्रम गरेर राम्रो आम्दानी लिन सकिने भएपछि कृषकहरु उत्साहित भएका छन् । नवलपुरको कावासोती नगरपालिका –१४ का चन्द्रमणी पाण्डेले पशुपालनबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । विगत ११ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आउनुभएका पाण्डेले मासिक दुई लाख आम्दानी हुने बताउनुहुन्छ । 

कावासोती डण्डामा रहेको साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित दुग्ध संकलन तथा चिस्यान केन्द्रमा बिक्री हुने बताउनुभयो । भैँसीको दूधको माग दिनहुँ बढेकाले भैँसी थप्दै जाने योजनामा रहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा अहिले १४ वटा भैँसीहरु छन् । 

विदेशी भूमिमा तातो घाममा पसिना बगाउने दुःखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने पाण्डेले बताउनुभयो । यसैगरी कावासोती १४ त्रिभुवनटारका ध्रुवकुमार श्रेष्ठ विगत १५ वर्षदेखि पशुपालनमा व्यस्त हुनुहुन्छ । रोजगारीको खोजीमा भारतमा १० वर्ष बिताउनु भएका ध्रुव अहिले स्वदेशमै पशुपालनमा रमाउनु भएको छ । उहाँ २०६७ देखि वैदेशिक रोजगारी छाडेर पशुपालनमा लाग्नुभएको छ ।

उहाँका अनुसार पशुपालनबाट अहिले मासिक ७० हजार आम्दानी भइरहेको छ । उहाँको गाई फार्ममा प्रशस्त दुध दिने १० वटा गाई छन् । दैनिक ६५ लिटर दुध बिक्री गरी राम्रो आम्दानी गर्न सफल भएको श्रेष्ठले बताउनुभयो ।  

यस्तै कावासोती नगरपालिका –१७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । रोजगारीको खोजीमा आठ वर्षे वैदेशिक रोजगारीको अनुभव सँगाल्नु भएका नवराज अहिले मासिक ८० हजार बचत हुनेगरेको बताउनुभयो । 

सात लाखको लगानीमा २०७५ सालमा गौडेल गाई तथा कृषि फर्म स्थापना गरी २३ वटा गाईबाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको उहाँको भनाइ छ ।   

आफ्नो गाउँघर छाडेर बिदेसी भूमिमा १२ घण्टासम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौ–धौ भएपछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताउनुभयो । राज्यले व्यवसाय सञ्चालनका लागि अनुदान, ऋणलगायत सुविधा दिनेहो भने गाउँमै रोजगारी र आम्दानी लिन यस्ता व्यवसाय कोसेढुंगा सावित हुने किसानहरुको विश्वास छ ।