रमेश विश्वकर्मा
गुल्मी, वैशाख २१ गते । गुल्मीमा एक व्यक्ति मृत फेला परेका छन् । यस जिल्लाको मालिका गाउँपालिका वडा नम्बर – १, रातामाटाका ४७ वर्षीय लालबहादुर विक मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिहीबार बेलुका विकले आमालाई मेरो टाउकोमा चोट छ स्वास्थ्य चौकी जान्छु भनी हिँड्नुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
शुक्रबार बिहान ७ः३० बजेको समयमा आफ्नै घर नजिक रहेको शौचालयबाट करिब २५ मिटर तल मृत अवस्थामा रहेको उहाँका श्रीमतीले देख्नुभएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।
विकको घरमा आमा, श्रीमती, बुहारी हुनुहुन्छ । उहाँको छोरा कामको सिलसिलामा भारतमा हुनुहुन्छ । उहाँले दैनिक मापसे गरी हिँड्ने र बिहीबार पनि मापसे गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी पौदिअमराईबाट प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा दुई जनाको टोलीले घटनास्थल पुगेको थियो ।
घाटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा पुगेको छ ।