• १३ मंसिर २०८१, बिहिबार

अजिरकोटको खस्रेभीरमा ‘हनी हन्टिङ’

blog

भीरमौरीको मह सिकार ‘हनि हन्टिङ’ गरिँदै । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, वैशाख २१ गते ।
गोरखाको अजिरकोट – २ ओलाङ गाउँस्थित करिब आठ सय मिटरको उचाइमा रहेको डरलाग्दो खस्रेभीरमा डोरीको सहायतले भीरमौरीको मह सिकार ‘हनि हन्टिङ’ गरिएको छ । बिहीबार ओलाङवासीहरु मध्ये भीरमा डोरीको सहयातबाट मह झिक्न सक्ने सक्ने ११ जना दक्ष अनुभवि व्यक्तिहरुको सहयताले मह सिकार ‘हनि हन्टिङ’ गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेको सयम भीरमौरीको मह उत्पादन गर्नेसहि समय भएकाले झण्डै ६ पाथीभन्दा बढी मह सङ्कलन गरिएको हो । जटिल भीरमा जाँदा पनि जम्मा पाँच वटा गोलाको मात्र मह सङ्कलन भएको छ । अझ केही घारको महको शिकार नगरिएको उहाँले बताउनुभयो ।

भीरमौरीको मह अहिले अध्यधिक मात्रामा माग बढेकाले एक मानाको दुई हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेको पाइएको छ । भीर मौरीको मह अत्याधिक मात्रामा पाइने त्यस क्षेत्रको संरक्षणका लागि योजना बनाएर बजेट व्यवस्थान गरेको  छ ।

गत वर्षहरुमा ओलाङवासीहरुले याम मिलाएर मह झिक्ने गरेकाले यस वर्षबाट गाउँपालिकाले बजेट व्यवस्थापन गर्दै त्यसलाई अबका दिनदेखि व्यवसायिक बनाउदै स्थानियको आर्यआर्जनमा वृद्धिका लागि पर्यटन प्रवर्द्धनसँग जोड्दै लैजाने उद्देश्यले यस पटक गाउँपालिकाले विशेष कार्यक्रम गरेर मह सिकार गरेको हो ।

गाउँपालिकाले भीरमौरीको मह शिकार गर्न आधुनिक ढङ्गबाट गर्नका लागि आवश्याक समग्री खरिद गरेर वितरण गरेको छ । मह शिकार गरिने क्षेत्रमा गाउँपालिकाले गोरेटो बाटो निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । जसले यहाँ आउने आन्तिरिक तथा बाह्य पर्यटकका लागि मह शिकार गर्ने भीरको अवलोकन गर्नका लागि आउजाउ गर्न सजिलो हुने गरी व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

अबको दिनमा गाउँपालिकाले हरेक वर्षको एक दिन हनि हन्टिङलाई फेस्टिबलको रुपमा अगाडि बढाउने उहाँको भनाइ छ । अजिरकोट गाउँपालिकाको ओलाङ भन्ने ठाउँ गोरखाका दुई वटा क्षेत्रमध्ये २ नम्बर क्षेत्रको सबैभन्दा उपल्लो भेग भएकाले पर्यटकका लागि पनि प्रमुख गन्तव्यका रुपमा लिने गरिन्छ ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ओलाङ गाउँलाई नमुना गाउँको रुपमा विकासका लागि यहाँ व्यावसायिक ट्राउट माछापालन, होमस्टे सञ्चालन, स्थानिय जडीबुडीको उत्पादन तथा प्रवर्द्धन, कार्यक्रम सञ्चालनका लागि गण्डकी प्रदेश सरकार अजिरकोट गाउँपालिकाले एक करोड बजेट विनियोजन भएको छ ।