गोकर्ण पौडेल
तुलसीपुर, वैशाख २१ गते । २०६६ सालमा निर्माण गरिएको धारोमा दश वर्षपछि पानी चुहिनै छाड्यो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा २०७८ सालमा गौरी सामुदायिक वनमा लागेको डढेलोका कारण खानेपानीको पाइप जल्यो । पाइप जलेसँगै सिमलखुट्टी गर्मीयामसँगै प्यासले आक्रान्त बन्दै गएको छ ।
तुलसीपुर १३ सिमलखुट्टीमा भएका ५२ घरधुरी गर्मीयाम सुरुभएसँगै समस्यामा परेको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । सोही ठाउँमा वैशाख ४ गते वनमा लागेको डढेलो बस्तीमा पुगेपछि तीन वटा पूर्णरूपमा जलेको वडाध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जुद्धबहादुर केसीले गर्मीयाममा खोलामा समेत पानी सुक्ने भएकाले निकै समस्या पर्ने गरेको बताउनुहुन्छ । सोही ठाउँकी ५६ वर्षीया दिलकुमारी विश्वकर्माले दुई तीन घण्टा हिँडेर पानी बोक्नुपर्ने समस्या रहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष मोहन पौडेलले गौरी सामुदायिक वनमा पानीको मुहान भएकाले त्यहाँ खानेपानीको ट्याङ्की निर्माण गरेर बस्तीमा रहेका धारोमा पानी ल्याइने बताउनुभयो । यता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा समेत वनमा लागेको डढेलोका कारण खानेपानीमा समस्या उत्पन्न हुँदै आएको छ । वडाध्यक्ष वीरबहादुर विश्वकर्माले जङ्गलबिचमा रहेका मुहानबाट बस्तीसम्म खानेपानी ल्याउन प्रयोग गरिएका पाइप डढेलोका कारण जलेर नष्ट भएको बताउनुभयो । अध्यक्ष विश्वकर्माका अनुसार डढेलोका कारण बाह्र मौजा टोलका ५० घरधुरी खानेपानीबाट वञ्चित हुँदै आएका छन् ।