• १३ साउन २०८१, आइतबार

अमलाचौरका अग्निपीडितलाई राहत

blog

गलकोट (बागलुङ) वैशाख २१ गते । घर गोठ जलेर बिचल्लीमा परेका यहाँका दुई परिवारलाई राहत उपलब्ध गराइएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरका अग्निपीडित परिवारलाई बागलुङ नगरपालिका, कालिका भगवती गुठी व्यवस्थापन समिति, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले नगद तथा खाद्यान्न सहयोग गरेका हुन् । 

बुधबार दिउँसोबाट बस्ती नजिकैको जङ्गलमा लागेको आगो एक्कासि बस्तीमा छिरेपछि स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको घर गोठ जलेको थियो । जङ्गलमा लागेको आगो बस्तीमा छिरेपछि चार घरगोठ जलेर नष्ट भएका छन् । बागलुङ नगरपालिका, १२ बलेवा अमलाचौरको डाँडाखेतमा आगलागी हुँदा दुई घर र दुई गोठ पूर्णरुपमा जलेका हुन् । जैमिनी नगरपालिका, १ कुश्मीशेराको टुनिवोट जङ्गलबाट सुरु भएको आगो डाँडाखेत बस्तीमा पसेपछि बस्तीको छेउमा भएका घरगोठमा आगलागी भएको थियो । 

आगलागीपछि बिचल्लीमा परेको दुई परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा गरी करिब दुई लाख बराबरको राहत प्रदान गरिएको छ । यदुनाथको घर पूर्णरुपमा जलेर नष्ट भएको र घरमा कुनै पनि वस्तु नभएका कारण प्रारम्भिक चरणमा बागलुङ नगरपालिकाले लत्ता कपडा, र खाद्य सामग्री सहयोग गरेको नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठ, उपप्रमुख राजु खड्कासहितको टोलीले घटनास्थलमा पुगेर परिवारलाई राहत प्रदान गरेको हो । 

नगरपालिकाले चामल, दाल, लत्ताकपडा, ग्यास चुलो र दैनिक उपभोग हुन अन्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख श्रेष्ठले पीडित परिवारलाई नगद राहत नगरस्तरीय विपत् व्यवस्थापन समितिबाट छिट्टै प्रदान गर्ने बताउनुभयो । आगलागीबाट घाइते भएका गाई भैँसी र बाख्राको पनि नगरपालिकाको पशु प्राविधिकको टोली पुगेर उपचार गरेको छ भने मरेका गाईभैँसी बाख्राको व्यवस्थापनका गरिएको छ । 

आगलागीबाट पीडित यदुनाथ र ददिरामले व्यावसायीकरुपमा नै गाई तथा भैँसीपालन गरेका थिए । उनीहरूले दुध बेचेरै आम्दानी गरेको पैसाले घरपरिवार धान्दै आएका थिए । आगलागीपीडित परिवारलाई नेकपा (एमाले) बागलुङ अमलाचौरको तर्फबाट नगद ७५ हजारसहित २० हजारको खाद्यान्न सहयोग गरिएको सो पार्टीका अमलाचौरका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । 

यस्तै यदुनाथको परिवारलाई अमलाचौरबासीले २० हजार चार सय, नेकपा (माओवादी केन्द्र) अमलाचौरले २४ हजार दुई सय र अमलाचौर भजन समूहले नगद पाँच हजार सहयोग गरेको छ । यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । आगलागीबाट यदुनाथको गोठमा रहेका दुई वटा भैँसी, तीन गाई र पाँच वटा बाख्रा जलेर मरेका थिए । 

यस्तै ददिरामको दुई गोठ जलेका छन् भने गोठमा रहेका एउटा गाई र एउटा बाख्रा जलेर मरेका छन् । साथै दुई गाई र दुई भैँसी घाइते भएका छन् । दिउँसो लागेको आगो बुधबार राति ११ बजे स्थानीय नेपाल प्रहरी, नेपाली सेनाको टोलीले नियन्त्रणमा ल्याएको थियो । रासस