गोविन्द शर्मा
बाँके, वैशाख २१ गते । बाँकेमा सञ्चालित मदरसाका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र मुस्लिम समुदायका अगुवाहरूले मदरसामा अध्ययनरत विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै लगानी बढाउन लुम्बिनी प्रदेश सरकार समक्ष माग गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीलाई सामूहिक भेट गरी मुस्लिम अगुवाहरूले मदरसामा शिक्षकको दरबन्दी थप गर्न र भौतिक पूर्वाधार विकासमा लगानी गर्न मन्त्री खत्रीको ध्यानाकर्षण गराउनुभयो ।
मुस्लिम समुदायका अगुवा सगिर खानले मदरसा शिक्षा पुरा गरेर अन्य विद्यालयमा अध्ययनका लागि जाने बालबालिकाले प्रतिस्पर्धा गर्न सक्ने गरी मदरसा शिक्षालाई जोड दिन मन्त्री खत्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।
खानले भन्नुभयो, ‘‘कतिपय मदरसाले पाँच/छ हजार पारिश्रमिकमा शिक्षक राखेका छन्, चुहिने छत छ, यसरी पढेका विद्यार्थीले अन्य विद्यालयमा पढ्न जाँदा कसरी प्रतिस्पर्धा गर्न सक्छन् भनेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ ।’’
मुस्लिम अगुवासँगको छलफलमा सामाजिक विकास मन्त्री खत्रीले मदरसा व्यवस्थापनमा ध्यान दिँदै गुणस्तरीय शिक्षामा जोड दिने बताउनुभयो ।
एकाध मदरसाका लागि भौतिक पूर्वाधारमा सहयोगभन्दा पनि नीतिगत सुधार गरेर जाने पक्षमा आफू रहेको उहाँले बताउनुभयो ।
मन्त्री खत्रीले भन्नुभयो, ‘‘मदरसालाई शिक्षाको मूल प्रवाहमा कसरी ल्याउन सकिन्छ र त्यहाँबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर रहेको बताउनुभयो ।’’
उहाँले सम्पूर्ण मदरसामा अरबीसँगै नेपालको राष्ट्रिय पाठ्यक्रम पनि कार्यान्वयन हुनुपर्ने पक्षमा मन्त्रालय रहेको भन्दै दुवै पाठ्यक्रमलाई समान ढङ्गले समावेश गरेमा मात्रै मदरसामा अध्ययनरत विद्यार्थी प्रतिस्पर्धामा आउन सक्ने बताउनुभयो ।