• १३ मंसिर २०८१, बिहिबार

सडक निर्माणमा ढिलाइ भएपछि स्थानीयद्वारा सङ्घर्ष समिति गठन

blog

निर्माणाधीन बेलबास–बेथरी चारलेन सडक । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, वैशाख २१ गते ।
रुपन्देहीमा उत्तर–दक्षिण जोड्ने मुख्य मार्गको रुपमा रहेको बेलबास–बेथरी सडक निर्माण अलपत्र परेपछि दबाब दिन स्थानीयले सङ्घर्ष समिति गठन गरेका छन् ।

स्थानीय राजनीतिक दल, संघसंस्थाका प्रतिनिधिहरुको भेलाले विजय ढकालको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको हो । सङ्घर्ष समितिमा श्याम विक, लेखनाथ गैरे, मनक श्रेष्ठ, गोपाल गुरुङ, रुजेन्द्र गुरुङलगायत रहनुभएको छ ।

स्थानीयले सडक निर्माण पूरा नगरेसम्म नहरपुर–बेताहानी खण्डमा ट्रिपर चल्न नदिने निर्णय गरेका छन् । सङ्घर्ष समितिले सडक किनारका नाली र कुलाेको काम पूरा गर्न, सडक बिचमा रहेका बिजुलीका पोल तत्काल हटाउन माग गरेको छ ।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालमा ठेक्का सम्झौता भ काम भए पनि अझै सम्पन्न हुन सकेको छैन । चारलेन सडक निर्माण गर्न तीन प्याकेजमा एक अर्ब ६७ करोडमा ठेक्का सम्झौता भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । तर उत्तरतर्फको खण्ड अझै पूरा हुन सकेको छैन ।

२०७६ असार मसान्तसम्म सम्पन्न गर्ने गरी बुटवल–बेताहानी साढे आठ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर उसले अझैसम्म काम सम्पन्न गरेको छैन । यो सडकखण्डमा साढे आठ किलोमिटरमध्ये तीन किलोमिटर लामो समयदेखि कालोपत्रे हुन सकेको छैन ।