• १३ मंसिर २०८१, बिहिबार

चन्द्रकोट गाउँपालिकाद्वारा ‘स्त्री जाति’का पशुचौपाया ओसारपसारमा रोक

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २१ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले स्त्री जातिका पशुचौपाया ओसारपसारमा रोक लगाएको छ । कृषि तथा पशुपालन कार्यलाई थप व्यवस्थित गर्नका लागि स्त्री जातिका पशुचौपाया ओसारपसारमा रोक लगाइएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले बताउनुभयो ।

एक सूचना जारी गर्नुहुँदै उहाँले व्यावसायिक कृषक उत्पादन गर्नुका साथै दुध तथा दुग्धजन्य उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उदेश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

पछिल्लो समयमा पालिका क्षेत्रभित्रबाट कृषकले पालेका पशुचौपायाहरु मध्ये स्त्री जातिका पशुचौपाया (विशेष गरी भैँसी) हरुको अवैध रूपमा ओसार भइरहेको हुँदा नियन्त्रण र नियमनका लागि अर्को व्यवस्था लागु नहुञ्जेलसम्म पशुचौपाया बिक्री वितरणमा रोक लगाइएको हो ।

मासुजन्य कार्यका लागि यातायातका विभिन्न साधनहरूबाट समेत पशुचौपाया अन्यत्र निकासी भइरहेको हुँदा पशुअधिकार तथा संरक्षण सम्बन्धी सम्बद्ध कानुन बमोजिम ओसारपसार गर्ने सवारी साधनलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिई कारबाही लागि सिफारिस गरिने बताइएको छ ।

पालिकाबाट अन्यत्र लैजानुपर्ने भएमा खरिदकर्ता र विक्रेता बिचको चौपाया पाल्ने प्रयोजनका लागि खरिद बिक्री भएको ब्यहोरा खुल्ने कागजात पेस गर्न सकिने भन्दै पालिकाभित्र सञ्चालनमा रहेका विभिन्न वधशालाहरूलाई व्यवस्थित गर्दै मापदण्ड अनुसार सञ्चालन गर्न गाउँपालिका अध्यक्ष क्षेत्रीले अनुरोध गर्नुभयो ।