• ११ मंसिर २०८१, मङ्गलबार

गिर्खेगिर्खा बोकेका शरणार्थी डम्बरबहादुर उपचारको खोजीमा

blog

अनुहारमा गिर्खै गिर्खा भएका डम्बरबहादुर मगर । तस्बिर: गोरखापत्र

हरि कोइराला

उर्लाबारी, वैशाख २१ गते । कामको खोजीमा निस्किएको बेला शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोग (युएनएचसीआर)ले नेपालको पथरीशनिश्चरे र दमकमा बसिरहेका शरणार्थीको प्रमाणीकरण गर्‍यो । त्यो बेला शरणार्थी शिविरमा  अहिले जस्तो सूचना सञ्चारको पहुँच थिएन । त्यसैले शरणार्थीको प्रमाणीकरण सूचीमा ४६ वर्षीय डम्बरबहादुर रानाको नाम छुट्यो ।

नाम छुटेका १ हजार ४ शरणार्थी अझै झापाको दमक र मोरङको पथरीशनिश्चरेमा शरणार्थी जीवन बिताइरहेका छन् । हरेकलाई शरणार्थी हुनुको फरक फरक पीडा छ । अझ अनुहार नै बिग्रिने गरी शरीरभरि गिर्खा आएपछि ४६ वर्षीय डम्बरबहादुर यति बेला घरबाट बाहिर कमै निस्किनु हुन्छ । पथरीशनिश्चरे–१०को छाप्रो नं.६८ बी १ मा बस्दै आउनु भएका राना एकातिर पारिवारिक वियोगको पीडामा हुनुहुन्छ भने अर्को तर्फ उपचार नपाएर बिरक्तिरहनु भएको छ । हातमा न नेपाली नागरिकता छ । न त शरणार्थी परिचय पत्र । 

पाखुरामा बल भए पनि काममा निस्किन उहाँ सक्नुहुन्न । घाममा भतभत पोल्छ । गर्मी सहन सक्नुहुन्न । उहाँले भन्नुभयो–शरणार्थी शिविर छोडेपछि दाजुहरू सम्पर्क विहीन हुनुहुन्छ । कहिले काहीँ बहिनीहरूले पठाएको सामान्य खर्चबाट मुस्किलले जाउलोको जोहो गरिरहनु भएका मगरसँगै श्रीमती र एउटी  छोरी पनि हुनुहुन्छ । 

सुरुमा डम्बरको अनुहारमा घमाउरा जस्तो साना फोका देखा परे । बिस्तारै तिनै फोकाहरू बढ्दै गए । अहिले उहाँको अनुहार भरि मात्र होइन, शरिर भरि फोकै फोका छन् । उपचारका लागि धेरै अस्पताल धाउनु भयो । तर, उपचार खर्चको अभावमा उहाँ रोग पालेर बसिरहनु भएको छ । उहाँले भन्नुभयो – डाक्टरले राम्रा अस्पतालमा उपचार हुन्छ ,भनेका छन् । तर, पैसा छैन ।